• १३ असोज २०८१, आइतबार

रातभर जाग्राम बस्ने मेला

blog

हुम्ला समाचारदाता

हुम्ला, माघ ५ गते । माघेसङ्क्रान्ति मेला हुम्लावासीले कर्णाली र दोजाम कर्णाली नदीको दोभानमा रातभरि जाग्राम बसेर मनाएका छन्। उनीहरूले रातभरि जाग्राम बसे राम्रो फल प्राप्त हुने धार्मिक मान्यतालाई निरन्तरता दिँदै यस वर्ष पनि राति नदीबाट आउने चिसो सिरेटोको परवाह नगरी माघेसङ्क्रान्ति मनाएका हुन्। 

खार्पुनाथ तीर्थका रूपमा उक्त स्थान जिल्लाभरि प्रख्यात रहेको छ। शिवालय क्षेत्रमा शिव मन्दिर पनि रहेको छ। खार्पुनाथ शिवालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त शाहीले यस वर्ष रातभरि जाग्राम बसेर माघेसङ्क्रान्ति मेला मनाइएको बताउनुभयो। मेलामा रातभरि शिवजीको आराधना गाएर रात कटाएको र बिहान सबेरै कर्णाली नदीको चिसो पानीमा स्नान गरेर मन्दिरमा पूजापाठमा गर्ने प्रचलन रहेको छ। यसरी शिवालयमा जाग्राम बसी पूजापाठ गरे राम्रो काम बन्ने, पाप पखालिनेजस्ता धार्मिक मान्यता रहिआएको छ। मेलामा मदिरा र काटमार निषेध गरिएको छ भने शिवालय क्षेत्रमा महिला–पुरुष मिलेर देउडा पनि गाउने गरिन्छ। 

विशेष गरी खार्पुनाथ गाउँपालिका–५ का ठकुरी समुदायका पुरुषले परम्परागत पोसाक बक्खु लगाएर मध्य क्षेत्रमा बालेको आगो ताप्दै चाड्ची र भारी गीत पनि गाउने तथा नाच्ने गर्छन् भने महिलाले शिव भगवान्को गुणगान झल्किने मागल गीत गाउँछन्। 

मेलामा सिमकोट र खार्पुनाथ गाउँपालिकाका मानिस बढी आउने भए पनि दक्षिणी क्षेत्रका मानिस पनि दुई दिन पैदल हिँडेर आउने गर्छन्।