मीना कँडेल
कावासोती, माघ ५ गते । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडककै कारण सर्वसाधारण जनताले दुःख पाउने र ज्यान गुमाउने समस्याको अन्त्यमा आफू लागिपर्ने बताउनुभएको छ।
बुटवल–नारायणगढ सडक आयोजनाको स्थलगत निरीक्षण गर्न नवलपुर आइपुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले सडककै कारण जनताले सास्ती खेप्नु दुःखद विषय भएको भन्दै निर्माणाधीन सडकको अवस्था बुझी समयमा नै समन्वयात्मक रूपमा कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
उहाँले नवलपुरको गैँडाकोट, रजहर, दुम्कौली र डण्डासम्मको निर्माणाधीन सडकको निरीक्षण गर्नुभएको हो। सडक निरीक्षणका क्रममा उहाँले देवचुली नगरपालिका चौधरी उद्योग ग्राम अगाडि निर्माणमा ढिलाइ भएको सडकका बारेमा समेत चासो लिनुभएको थियो।
मन्त्री श्रेष्ठले सडकबाट करिब पाँच सय मिटर पैदल हिँडेर सडक आयोजनाले गरेको कामको अनुगमन गर्नुभएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले कामदार र सिफ्ट बढाएर आयोजनाको कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ।
सडक निर्माण समयमा नै हुन नसकेको अवस्थामा जनताले गर्ने गुनासोलाई यथाशीघ्र सम्बोधन गरी निर्माण कम्पनीलाई तत्काल निर्माणमा तदारुकतामा उहाँले जोड दिनुभयो।