• १३ असोज २०८१, आइतबार

रोजगारी सिर्जना मुख्य लक्ष्य

blog

काठमाडौँ, माघ ५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभएको छ । 

मन्त्री भण्डारीले बुधबार नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँग रोजगारीको अभावमा पलायन भइरहेका जनशक्ति रोक्नुपर्ने आवश्यकतामा जोड दिँदै औद्योगिक विकासबाट मात्रै स्वदेशमा रोजगारीका अवसर सिर्जना सम्भव भएकाले परिसङ्घसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभयो । परिसङ्घको टोलीले मन्त्री भण्डारीसँग उद्योगी व्यवसायीका समस्या समाधान गर्न आग्रह गरेको थियो । 

भेटमा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले पछिल्लो समय मागमा आएको उच्च सङ्कुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावजस्ता कारणले खस्किएको उद्योगी व्यवसायीको मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने नीति अवलम्बन गर्न आग्रह गर्नुभयो । 

उहाँले औद्योगिकीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगिकीकरणलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन अनुरोध गर्नुभयो । 

यस्तै आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि उहाँले आग्रह गर्नुभयो ।