• १३ असोज २०८१, आइतबार

‘आउँदो वर्षबाट मल र कृषि औजार कारखाना’

blog

शालिग्राम नेपाल 

चितवन, माघ ५ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउँदो वर्षको बजेटमा मल र कृषि औजार कारखाना निर्माणका लागि बजेट विनियोजन गर्ने बताउनुभएको छ । 

पूर्वी चितवनमा खैरहनी महोत्सवको बुधबार उद्घाटन गर्दै उहाँले प्रदेश सरकारको मूल उद्देश्य कृषिलाई व्यावसायिक बनाउने रहेकाले त्यहीअनुसारका कार्यक्रम आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी नहुने कुरा गर्दैनौँ, कृषिका लागि आवश्यक मल र कृषि औजार हो । आउँदो बजेटमा यसलाई सम्बोधन गरिनेछ ।” 

बागमती प्रदेशलाई कृषिको उर्वर भूमिका रूपमा विकास गर्न त्यसैअनुरूपका कार्यक्रम लागू गर्ने गरी योजना आउने उहाँले बताउनुभयो । “सधैँको मलको हाहाकार हटाउन उद्योग निर्माण आवश्यक भएको हामीले बुझेका छौँ,” मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “अब बजेटबाट सम्बोधन हुने भएपछि कारखाना निर्माणको काम अगाडि बढ्नेछ ।” कृषकलाई आत्मनिर्भर बनाएर कृषि क्रान्ति सुरु गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । 

उहाँले एक पालिका एक पकेट क्षेत्र घोषणा गरेर कृषि उत्पादन वृद्धि गर्ने गरी कार्यक्रम ल्याउने तयारी रहेको जानकारी दिनुभयो । “यस वर्ष २६ क्षेत्रमा पकेट क्षेत्र घोषणा गरिनेछ । हरेक जिल्लाका पालिकाको आफ्नै महत्व र विशेषता छ । त्यहाँ हुने उत्पादनले बजार पाउनुपर्छ । बजारको व्यवस्था र उत्पादनलाई जोड दिने गरी सरकारले कार्यक्रम ल्याउँछ ।”

महोत्सव उद्घाटन कार्यक्रममा उहाँले किसानलाई दिइने अनुदान रकम दुरुपयोग भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । अब त्यस्ता अनुदान रकमको विषयमा विशेष निगरानी राख्ने र जुन कामका लागि रकम दिइएको हो, त्यही काम हुनुपर्छ भन्ने मान्यता सरकारले राख्ने उहाँको भनाइ थियो ।