• १३ असोज २०८१, आइतबार

विमान दुर्घटनाबारे अध्ययन गर्दै फ्रान्सको विज्ञ टोली

blog

रमेश पौडेल

पोखरा, माघ ५ गते । पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट नौ सदस्यीय विज्ञ टोली पोखरा आइपुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली मङ्गलबार नेपाल आएर बुधबार दुर्घटनास्थल पोखरा पुगेको हो। 

नेपालमा पहिलो पटक एटीआर विमान दुर्घटना भएपछि जहाज निर्माण कम्पनीको विज्ञ टोली नेपाल आएको र बुधबार दुर्घटनास्थलको अवलोकन गर्नुका साथै यती एयरलाइन्सका कर्मचारी, पोखरास्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, दुर्घटनाको समयमा विमानस्थलमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयवासीलगायतसँग छलफल सुरु गरिसकेको छ। दुर्घटनास्थलको अवलोकनपछि केही सदस्य काठमाडौँ फर्किसकेका छन् भने केही पोखरामै छन्। विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो देखाउँदै स्वेच्छिक रूपमा नेपाल आएको हो।

उहाँले दुर्घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न गठित आयोगले समेत काम सुरु गरिसकेको जानकारी दिनुभयो। जाँचबुझ आयोगका एक सदस्यले आयोगको टोली पोखरा पुगेर घटनाको जाँचबुझ अघि बढाइसकेको बताउनुभयो। दुर्घटनामा परेको जहाजको लगबुक अध्ययन, तथ्याङ्क सङ्कलनलगायतका सुरुवाती अनुसन्धानका काम अघि बढिसकेको सचिव अधिकारीको भनाइ छ।

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको नियमअनुसार सुरुवाती अनुसन्धान अघि बढिसकेको छ। दुर्घटनाका कारण पहिल्याउन महत्वपूर्ण मानिएको ‘ब्ल्याक बक्स’ जाँचका लागि विदेश पठाउनुपर्ने भएकाले फ्रान्स नै पठाउने वा अन्य देशमा पठाउने भन्नेबारे निर्णय हुन बाँकी छ।”

ब्ल्याक बक्समा फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्ड दुवै हुने भएकाले अनुसन्धानमा सघाउन ब्ल्याक बक्सको रिपोर्ट कुर्नुपर्ने उहाँले बताउनुभयो। जहाज निर्माता कम्पनीको विज्ञ टोलीसँग समेत दुर्घटनाको सम्भावित कारणबारे छलफल हुने जाँचबुझ आयोगका सदस्यको भनाइ छ। 

सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरिसकेको छ। आयोगका सदस्यमा हवाई विज्ञका रूपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त क्याप्टेन सुनील थापा रहनुभएको छ। साथै हवाई मर्मत विज्ञ एकराजङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ। सरकारले जाँचबुझ आयोगलाई दुर्घटनाबारे सत्यतथ्य बाहिर ल्याउन ४५ दिनको समयसीमा तोकेको छ। आइतबार बिहान भएको दुर्घटनामा हालसम्म ७१ जनाको शव फेला परेको छ। विमान दुर्घटनामा परेका एक जनाको मात्र अवस्था अज्ञात छ।