• १३ असोज २०८१, आइतबार

रघुगंगा र अन्नपूर्ण भलिबलको फाइनलमा

blog

भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ ४ गते । उत्तरी म्याग्दीका दुईवटा पालिका अन्नपूर्ण र रघुगंगा म्याग्दीको बेनीमा आयोजित अन्तर पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

अन्नपूर्ण र रघुगंगा गाउँपालिका ७औँ म्याग्दी महोत्सव एवं माघेसंक्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा आयोजित पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेका हुन् । 

पुस २८ गतेदेखि सुरु भएको महोत्सवको अवसरमा भएको भलिबल प्रतियोगिताको पहिलो सेमीफाइनलमा बेनी नगरपालिकालाई २६–२४, १६–२५, १९–२५, २२–२५ को सेटमा पराजित गर्दै रघुगंगा गाउँपालिका फाइनल प्रवेश गरेको जिल्ला भलिबल सङ्घ म्याग्दीले जनाएको छ । 

यसैगरी दोस्रो सेमिफाइनल खेलमा धवलागिरि गाउँपालिकालाई प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै अन्नपूर्णले फाइनलका लागि यात्रा तय गरेको हो । अन्नपूर्णले १९–२५, १४–२५, २६–२४, २५–२१, ११–१५ को प्रतिस्पर्धात्मक सेटमा धवलागिरिलाई पराजित गरेको थियो । जिल्ला भलिबल सङ्घ म्याग्दीका महासचिव कुमार किसानले दिएको जानकारी अनुसार पुरुष भलिबलको फाइनल खेल माघ ६ गते बेनीबजारको खुल्लामञ्चमा हुनेछ । 

भलिबल प्रतियोगितामा पहिलो हुने टिमले ८८ हजार आठ सय ८८ र दोस्रो हुने टिमले ५५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलबाट बाहिरिएका धवलागिरि गाउँपालिका र बेनी नगरपालिकाले जनही १५/१५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।