• १३ असोज २०८१, आइतबार

चाँगुनारायण नगरपालिकामा हाम्रो पात्रो हेल्थको प्लेटफर्मबाट टेलिहेल्थ सेवा

blog

काठमाडौं, माघ ४ गते । हाम्रो पात्रो एपको टेलिहेल्थ सेवामा नगरपालिकाका डाक्टरसँग निःशुल्क परामर्श गर्न सकिने भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाले हाम्रो पात्रो हेल्थमार्फत् नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्ति, स्कुले बालबालिका, महिलाहरूलाई  नगरपालिका भित्रका डाक्टरसँग घरबाट निःशुल्क परामर्श सेवा सुरु गरेको छ ।

आज (बुधबार) एक कार्यक्रमबीच चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरका डाक्टर शैलेश त्वानावासुसँग स्वास्थ्य परामर्श लिएर सेवाको शुभारम्भ गर्नुभयो ।

‘‘नगरपालिकाको उद्देश्य अनुसार नगरवासीलाई स्वास्थ्य सेवा सहजरूपमा उपलब्ध गराउने कार्यमा यस सेवाले थप बल पुर्‍याउँछ भन्ने विश्वास लिएको छु,’’ नगर प्रमुख खत्रीले भन्नुभयो, ‘‘भौगोलिक तथा यातायातको समस्या रहेको हाम्रो जस्तो नगरमा वृद्धवृद्धा बालबालिका र शारीरिकरूपमा नगर अस्पतालसम्म पुग्न गाह्रो हुने नगरवासीलाई हाम्रो पात्रोसँगको सहकार्यमा प्रदान गरिएको यस सेवाले सहज हुनेछ ।’’


यसैगरी, हाम्रो पात्रोको संस्थापक/सीईओ शंकर उप्रेतीले नेपालका धेरै नगरपालिकाहरू हाम्रो पात्रो हेल्थमार्फत् आफ्नो सेवा आफ्ना नगरवासीलाई उपलब्ध गराउन उत्सुक देखिएको बताउनुभयो ।

उहाँले आगामी दिनमा धेरै नगरपालिकाहरूले नगर भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका, महिलालाई नगरपालिका भित्रका डाक्टरसँग  निःशुल्क परामर्श सेवा उपलब्ध गराउने पनि जानकारी दिनुभयो ।

‘हाम्रो पात्रो हेल्थ’को माध्यमबाट एप्सले नगरपालिकाहरूले आफ्ना नगरवासी वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्ति, स्कुले बालबालिका तथा महिलालाई  नगरपालिका भित्रका डाक्टरसँग घरबाट नै निःशुल्क परामर्श लिन सक्ने व्यवस्था गरेको हो ।

त्यस्तै, हाम्रो पात्रो एपले सुरु गरेको टेलिहेल्थ सेवा, ‘हाम्रो पात्रो हेल्थ’ले आफ्नो स्थापनाको एक वर्षभित्र तीन हजारभन्दा बढी व्यक्तिहरूले सेवा लिएको जनाएको छ ।