• १० मंसिर २०८१, सोमबार

कलेज टिफिन एप सार्वजनिक

blog

काठमाडौँ, माघ ४ गते । नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआइटी) मा अध्ययनरत विद्यार्थीले कलेज टिफिन नामक एप सार्वजनिक गरेका छन् । 

क्यान्टिन तथा वरिपरिका रेस्टुरेन्टमा  खाजा खाने समयमा हुने अत्यधिक भीडको समस्यालाई दृष्टिगत गर्दै एप तयार पारेको कलेज टिफिनका संस्थापक अर्जुन घिमिरेले बताउनुभयो । क्याम्पसमा हुँदा हामीलाई खाजा खान ४० मिनेटको समय छुटाइएको हुन्छ, उहाँले भन्नुभयो , क्यान्टिनमा हुने भीडले गर्दा न आफूले भनेको समयमा खाजा खान पाइन्छ न त समयको बचत नै हुन्छ । त्यो बिचको समयलाई खेर जान नदिन के गर्ने भन्ने सोच्दा कलेज टिफिनको अवधारणा आएको हो ।

घिमिरेका अनुसार यो एप क्याम्पस नजिकका रेस्टुरेन्ट वा क्यान्टिन तथा विद्यार्थीले प्रयोग गर्नका लागि तयार पारिएको हो । यो एपमा क्याम्पस नजिकका क्याटिन वा रेस्टुरेन्ट लिस्टिङ गरिएको हुन्छ । विद्यार्थीले खाजा खाने समयअघि एपबाट नजिकको रेस्टुरेन्ट वा क्यान्टिनमा त्यहाँ उपलब्ध हुने खाजा प्रि–अर्डर गर्न सक्छन् । जुन होटेल, रेस्टुरेन्ट वा क्यान्टिनबाट अर्डर गर्न लागेको हो त्यहाँ नोटिफिकेसन आउँछ । नोटिफिकसेन आइसकेपछि होटेलले खाजा तयार हुन लाग्ने समयको मेसेज नोटिफिकेसन मार्फत पठाउँछन् । यति गरेपछि होटेलमा खाजा तयार हुन थाल्छ । खाजा तयार भइसक्यो भने उक्त विद्यार्थीलाई पुनः खाजा तयार भएको नोटिफिकेसन जान्छ । त्यसपछि विद्यार्थी उक्त होटेल, रेस्टुरेन्ट वा क्यान्टिनमा गएर खाजा खान सक्छन् । खाजा अर्डर गर्ने व्यक्ति त्यही नै हो भन्ने कुरा त्यहाँ हुने ओटिपी कोडले पुस्टी गर्ने  एपका डेभलपर सरोज दाहाल बताउनुहुन्छ । 

अर्डर गरेर भुक्तानी गर्दा विद्यार्थीलाई चार डिजिजको ओटिपि कोड आउँछ, एपको प्राविधिक पक्षबारे जानकारी दिनुहुँदै दाहालले भन्नुभयो । त्यही ओटिपि कोडका आधारमा रेस्टुरेन्टले अर्डर गर्ने विद्यार्थी पहिचान गर्न सक्छ । त्यस्तै केहीगरि अर्डर क्यान्सिल गर्‍यो भने पैसा तत्कालै रिफन्ड हुने उहाँको भनाइ छ ।

‘कलेजले खाजा खानका लागि ४० मिनेट ब्रेक दिएको हुन्छ, खाजा बनाउन होटेल र क्यान्टिनलाई समय लाग्छ उता कक्षा सुरु भइसकेको हुन्छ अनि ढिलो गएपछि कक्षा छुट्ने र गाली खानुपर्ने समस्या छ यसको समाधान गर्ने उद्देश्य हाम्रो हो कलेज टिफिनका प्रमुख कार्यकारी अधिकृत विवेक ढकालले बताउनुभयो ।