• १३ असोज २०८१, आइतबार

कान्तिबाल अस्पताल तत्काल सुधार गर्न निर्देशन

blog

काठमाडौं, माघ ४ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बालबालिकाहरूको गुणस्तरीय उपचारमा कमी हुन नदिन कान्ति बाल अस्पताललाई निर्देशन दिनुभएको छ ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै अस्पतालको निरीक्षणका लागि पुग्नुभएका उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कोही पनि बालबालिका सुलभ र गुणस्तरीय उपचार नपाएर भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय कान्ति बाल अस्पतालमा आइसियु बेड नपाउने गरेको गुनासोहरू धेरै आएको भन्दै जनताको गुनासोलाई समाधान गर्ने गरी अस्पतालमा आइसियु बेडको सङ्ख्या बढाउन पनि निर्देशन दिनुभयो । उहाँले अस्पताललाई चुस्त सेवा दिने व्यवस्थाका लागि सरकारले गर्नुपर्ने सहयोग पूर्ण रूपमा सरकारबाट हुने पनि प्रतिबद्धता जनाउनु भयो । उहाँले कान्ति बाल अस्पतालमा उपचारका लागि आएका बिरामीहरू बेड नपाएका कारण बाहिर जानुपर्ने अवस्थाको पूर्ण रूपमा अन्त्य हुनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘देशको एउटा मात्रै सरकारी बाल अस्पताल धेरै बिरामीहरू आउनुहुन्छ तर यहाँ भित्र बेड नपाएका कारणले बाहिर जानुपर्ने बाध्यात्मक अवस्था छ, यसलाई अन्त्य गर्न सक्नु पर्छ । जन गुनासो पनि त्यही किसिमले आएको छ । भर्ना गर्न सक्ने अवस्था छैन हामी बाहिर जानुपर्ने र महँगो तिर्नुपर्ने अवस्था छ भन्ने आएको छ । यो कुरालाई अन्त्य गर्नुपर्छ । आन्तरिक व्यवस्थापनलाई अधिकतम बालबालिकाको उपचार गर्ने कुरालाई प्राथमिकता दिने गरेर हुनुपर्छ । सर सपाइका समस्या समाधान गर्नुपर्छ । जनशक्तिमा कमी भए हामी पूरा गर्नेछौँ तर आएका बिरामीहरूले राम्रो गरी उपचार पाउनुपर्छ ।’

मन्त्रालयका कर्मचारीहरूले भने इक्वीपमेण्ट र ठाउँ प्रशस्त भएपनि आवश्यक जनशक्ति नभएको गुनासो गरेका थिए । मन्त्री गिरीले कोही पनि बालबालिकाहरू उपचार गर्न आउँदा उपचार नपाएर बाहिर जाने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाउनु भयो ।