• ६ जेठ २०८१, आइतबार

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक निर्माणमा गति दिन निर्देशन

blog

शान्ता अधिकारी/वसन्त पराजुली

चितवन, माघ ४ गते । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्ड छ लेन सडक विस्तार योजनाको स्थलगत अनुगमन र निरीक्षण गर्नुभएको छ । 

चिनियाँ व्यावसायिक कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का पाएको ११४ किलोमिटरको यो सडक सम्झौताका हिसाबले हालसम्म निर्माण सम्पन्न भइसक्नु पथ्र्याे । हाल एक वर्ष समय थप भए पनि काममा सन्तोषजनक प्रगति नभएको र निर्माण गतिको सुस्तताका कारण जनताले सास्ती भोग्नु परेको यथार्थबीच उपप्रधानमन्त्री श्रेष्ठ आफैँले निर्माण प्रगतिबारे स्थलगत चासो लिनुभएको हो । 

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा र आयोजना प्रमुखहरूलाई साथमै लिएर निरीक्षणमा पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाको कार्यालय गैँडाकोट पुगी निर्माण कम्पनीका प्रतिनिधिसँग योजना सुस्त हुनुको कारणबारे जिज्ञासा राख्नुभएको थियो । कम्पनीका प्रतिनिधिले खानेपानी, विद्युत्, ढल, कोभिड, क्रसर व्यवसायीका समस्याजस्ता औपचारिक कारण देखाए पनि अब काममा गति दिँदै गुणस्तरीय काम अघि बढाउन उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “समस्या के हो प्रस्ट भन्नुस्, अब कुनै पनि बहानामा आलटाल स्वीकार्य हुँदैन ।”

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “आर्थिक, सामाजिक गुणात्मक विकास र समृद्धिका लागि हामी परम्परागत होइन, गतिशील ढङ्गले काम गर्न खोजिरहेका छौँ । यसका लागि तपाईंहरूको सकारात्मक सहयोग हुनुपर्छ ।” सो अवसरमा कम्पनीका प्रतिनिधिले समयसीमामै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

यसैबीच उपप्रधान श्रेष्ठले भ्रष्टाचार र अनियमितता विकासको शत्रु भएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले मङ्गलबार महानगरको सभाकक्षमा आयोजना गरेको बधाई एवं विकाससम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । 

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापासहितको टोलीका साथ उहाँ सडकलगायतका पूर्वाधार अवलोकन, निरीक्षण कार्यक्रममा सहभागी हुन चितवन आउनुभएको हो । उक्त अवसरमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणको काममा भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, आलटाल कुनै पनि बहानामा छुट नभएको बताउनुभयो । उहाँको भनाइ थियो, “भ्रष्टाचार र अनियमितता विकासको शत्रु हो । यस्तो कहीँ छ भने सरकार त्यसलाई छुट दिनेवाला छैन ।” 

कार्यक्रममा भरतपुर महानगरका प्रमुख रेनु दाहालले पश्चिम चितवनमा नारायणी नदीमा पुल आवश्यक रहेको, महानगरीय रिङरोडको पूर्णता, महानगर क्षेत्रको सौन्दर्यीकरणलगायतमा बजेट व्यवस्था गरिदिन आग्रह गर्नुभएको थियो । उहाँले सडक पूर्वाधार, ट्राफिक लाइट र मुख्य बजार क्षेत्रमा आकासे पुलका लागि पनि बजेट व्यवस्था गरिदिन माग गर्नुभएको थियो । यसअघि महानगरका डिभिजनल इन्जिनियर लक्ष्मीप्रसाद सापकोटाले महानगरमा भइरहेको विकास निर्माण र आवश्यक बजेटका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सिग्देलले नारायणी नदीमा आकर्षक सिग्नेचर पुल अहिले रहेको पुलको छेउबाटै बनाइने जानकारी दिनुभयो । 

मन्त्री श्रेष्ठले मङ्गलबार नै भरतपुरको गोन्द्राङ–पुलचोक छ लेन सडक र आँपटारी केन्द्रीय बस टर्मिनल बाइपास सडक अवलोकन गर्नुभई काममा ढिलाइ नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । उक्त अवसरमा निर्माण व्यवसायीका तर्फबाट गिटी, ढुङ्गालगायतका सामग्रीको अभावमा काम समयमा गर्न नसकिएको गुनासो राखिएको थियो । मङ्गलबार नै उहाँले भरतपुर–६ मा रहेको हिमालय डण्डपाणि माध्यमिक विद्यालयको वार्षिकोत्सवमा समेत सहभागिता जनाउनुभयो ।