• १३ असोज २०८१, आइतबार

विकट गाउँमा पुग्यो बिजुली

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, माघ ४ गते । डोल्पासँग सिमाना जोडिएको रुकुमपश्चिमको विकट गाउँ गोतामकोटमा पहिलो पटक विद्युत् सेवा पुगेको छ। आठबिसकोट नगरपालिका–५, गोतामकोटमा विद्युत् सेवा पुग्दा स्थानीयवासी हर्षित भएका छन्।

आफ्नो विकट गाउँमा पनि विद्युत् सेवा विस्तार हुँदा असाध्यै खुसी लागेको रिम्का गाउँकी नन्नी बस्नेतले बताउनुभयो। बस्नेतले भन्नुभयो, “विद्युत् लाइन आउला र घर झिलिमिली होलान् भनेर सोचेका थिएनौँ। अब त अँध्यारो गाउँ उज्यालो भयो।” यस्तो ठाउँमा पनि विद्युत् आउँछ ? भनेर अविश्वास गर्नेहरूकै अगाडि बत्ती बाल्न पाउँदा गाउँवासी हर्षित भएको बस्नेतले जनाउनुभयो।

ढिलै भए पनि गाउँलेको बिजुली बाल्ने सपना पूरा भएको छ। नगरपालिकाको वडा नं. ५ मा नौ सय घरपरिवार विद्युत् सेवाबाट वञ्चित थिए। सक्नेले सौर्य ऊर्जा प्रयोग गर्थे, नसक्ने टुकीकै भरमा थिए। अब भने गाउँमा केन्द्रीय प्रसारण लाइन जोडिएको छ। वर्षौंको मेहनतपछि गाउँमा विद्युत् लाइन विस्तार हुँदा वडामा खुसियाली छाएको वडाध्यक्ष घनश्याम भण्डारीले बताउनुभयो। बिजुली नहुँदा यहाँका सर्वसाधारणको दैनिकी असहज थियो। वडाध्यक्ष भण्डारीले वर्षाको पर्वाह नगरी, रातदिन नभनी बिजुलीको पोल र तार तान्ने काम गरेर गाउँमा बत्ती बाल्न सफल भएको जानकारी दिनुभयो। गाउँमा जोडिएको ट्रान्सफर्मरमा बत्तीको सफल परीक्षण गरेर स्थानीयका घरघरमा मिटर जोड्दै बिजुली बाल्ने काम भइरहेको भण्डारीले उल्लेख गर्नुभयो।

आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले आठबिसकोट उज्यालो पालिकान्मुख भएको बताउनुभयो। ग्रामीण विद्युतीकरणका लागि नगरपालिकाले पहल गरिरहेको र पालिकाका सबै वडामा केन्द्रीय प्रसारण लाइन पु-याउने योजना रहेको नगरप्रमुख रवि केसीले जनाउनुभयो। “सबै गाउँका टोलटोलमा बिजुली बाल्दै छौँ,” नगरप्रमुख केसीले भन्नुभयो, “यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको छ। हामी पालिकालाई उज्यालो पार्ने अभियानमा छौँ।”

आठबिस नगरपालिका–३, ५, ९, १०, ११, १२ र १४ मा विद्युत् सेवा सुचारु भइसकेको छ भने अन्य वडामा लाइन विस्तारको काम चलिरहेको छ। विद्युत् बाल्न बाँकी वडाहरूमा एक वर्षभित्रै बिजुली बालिसक्ने दाबी उहाँको छ। आधारभूत संरचनाहरू बनिसकेकाले टोलटोलमा विद्युत् लाइन पु-याउन धेरै समय नलाग्ने उहाँको भनाइ छ।