• १२ साउन २०८१, शनिबार

देशभरका तुइन विस्थापित गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता

blog

नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डे सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार पदभार ग्रहण गर्दै । तस्बिर : रासस

काठमाडौं, माघ ३ गते । नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

सहरी विकासमन्त्रीको शपथग्रहणपछि मंगलबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले नेपालको पश्चिममा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरूको तुइनबाट खोला तर्दा खोलामा खसेर मृत्यु भइरहेको भन्दै सबै भन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताउनुभएको हो । 

उहाँले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने बताउनुभयो । मन्त्री पाण्डेले अब नेपालको कालीगण्डी क्षेत्रमा हरेक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताउनुभयो । 

उहाँले सहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने बताउनुभयो । मन्त्री पाण्डेले विकास निर्माणका काम के कारण रोकिएको छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको बताउनुभयो । उहाँले काम सुरु भएरपनि सम्पन्न नभएका काम तत्काल पूरा गर्नको लागि मन्त्रालयमा आएको बताउनुभयो ।

मन्त्री पाण्डेले सहरी विकास मन्त्रालयका विकास निर्माणका काम किन नभएको सबै थाहा भएकाले सबै समस्या समाधान गर्दै मन्त्रालयलाई विगतको भन्दा फरक रूपमा अगाडि बढाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सहरी विकास मन्त्रालयमा गर्नु पर्ने कामको प्राथमिकताका आधारमा काम गर्छौँ । त्यसका के कारणले विकास निर्माणको काम रोकिएको छ । कसरी समस्याको समाधान गर्ने  र हुन नसकेका कामलाई छिटो भन्दा छिटो काम गर्ने र नयाँ योजनाहरू थप्दै जाने सोचेका छौँ । काम सुरुवात भएर कसको कारणले काम हुन नसकेको हो । तत्काल कार्य अगाडि बढाउँछु । विकास निर्माणका काम ढिला हुन नदिनको लागि यो मन्त्रालय दिइएको हो ।’’ 

उहाँले सबैभन्दा पहिला तुइन हटाएर झोलुङगे पुल बनाउने काम पूरा गरेर छाड्ने दोहोर्‍याउनुभयो । उहाँले भन्नुभयो, ‘‘हरेक आधा घण्टाको फरकमा झोलुङ्गे पुल हुन्छ । क्रस गर्ने सुविधा नभएको ठाउँमा पुल हुन्छ । म सहरी विकास निर्माणको विषयमा जानकार राख्छु । त्यसैले कुनै स्वार्थ बाझिने छैन ।’’