• १२ साउन २०८१, शनिबार

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

blog

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रदेश सभा बैठकमा विश्वासको मत लिनुहुँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, माघ ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको मङ्गलबारको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि राख्नु भएको प्रस्तावको पक्षमा सत्ता गठबन्धनसहित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले मत दिएको छ । 

नेपाल मजदुर किसान पार्टीले विश्वासको मत लागि राखिएको प्रस्तावको विपक्षमा मतदान गरेको छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा १०५ मत र विपक्षमा ३ मत परेको प्रदेश सभाका सभामुख भुवन पाठकले जानकारी गराउनुभयो ।

प्रदेश सभामा कुनै एक दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्य मुख्यमन्त्री नियुक्त भएको अवस्थामा नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुभएको हो । 

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक तोकिएको समयभन्दा अबेर सुरु भएको थियो । यसअघि मुख्यमन्त्री जम्कट्टेलले राजनीतिक स्थिरताका लागि विश्वासको मत दिन आग्रह गर्दै राख्नुभएको प्रस्तावमाथि कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङ, एमालेका जगन्नाथ थपलिया, नेकपा (माओवादी केन्द्र) का युवराज चौलागाईँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारी तामाङ, एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल, नेमकिपाका सुरेद्रराज गोसाईं र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले धारण राख्नुभएको थियो ।

साथै, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतको प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनु भएको थियो । उता, कांग्रेसका ६ जना प्रदेश सभाका सदस्यले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेताले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन गरिएको प्रस्तावप्रति संसदीय दलमा फरक मत राख्नुभएको छ । 

प्रदेश सभा सदस्यहरू श्रीराम लामिछाने, छिरिङ दोर्जे लामा, सुरजचन्द्र लामिछाने, सुरेस श्रेष्ठ, शान्ता ढकाल र छेत्रबहादुर बम्जनले फरक मत राख्नुभयो ।