• १२ साउन २०८१, शनिबार

भ्रष्टाचार समृद्धिको शत्रु हो : उपप्रधानमन्त्री श्रेष्ठ

blog

चितवनको भरतपुर महानगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, माघ ३ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि वर्तमान सरकारको एक सूत्रीय कार्यक्रम भएको बताउनु भएको छ ।

भरतपुर महानगरपालिकाले मंगलबार महानगरको सभाकक्षमा आयोजना गरेको बधाई एवम् विकाससम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले त्यस्तो बताउनु भएको हो । उहाँ मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकसहितको चितवन र यसको आसपासको क्षेत्रको सडक लगायतका पूर्वाधारको अवलोकन, निरीक्षणका लागि सोमबार चितवन आउनुभएको हो । 

उहाँले विकास निर्माणको काममा भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, आलटाल कुनै पनि बहानामा छुट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार र अनियमितता विकास र समृद्धिको शत्रु हो । यस्तो कहीँ छ भने सरकार त्यसलाई छुट दिनेवाला छैन ।” आफूले मन्त्रालय सम्हालेदेखि सुशासन, यातायातमा सुधार, आयोजना छनोट, भौतिक निर्माणका विषयमा पटक पटक विभिन्न राजनीतिक नेतृत्व, विज्ञ र सरोकारवाला पक्षसँग पटक पटक छलफल र अन्तरक्रिया गरिरहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले मंगलबार नै भरतपुरको गोन्द्राङ पुलचोक ६ लेन सडक र आँपटारी केन्द्रीय बस टर्मिनल बाइपास सडकको अवलोकन गर्नु भई काममा ढिलाइ नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । 

उपप्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार मंगलबार नारायणी नदीमा बन्ने सिग्नेचर पुलको निर्माणस्थल अवलोकन, निर्माणको क्रममा रहेको नारायणगढ हेटौडा ६ लेन सडकको प्रगतिको बारेमा बुझ्ने र अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

सो अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालले पश्चिम चितवनमा नारायणी नदीमा पुलको आवश्यकता, महानगरीय रिङरोडको पूर्णता गर्नुपर्ने अवस्था, भरतपुर महानगर क्षेत्रमा सौन्दर्यीकरणसहितको सडक पूर्वाधारको लागि बजेट व्यवस्था गरिदिन माग गर्नुभयो ।