• १२ मंसिर २०८१, बुधबार

कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

blog

बागमती प्रदेश कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको हेटौँडामा बसेको बैठक । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, माघ ३ गते ।
 बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्दै गर्नुहुँदा नेपाली कांग्रेस बागमती प्रदेशले विश्वासको मत दिन निर्देशन दिएको छ ।

कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको मङ्गलबार यहाँ बसेको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

कांग्रेसले यसअघि यस प्रदेशको प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचनमा सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको थियो । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन आज (मङ्गलबार) साढे १२ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक एक घण्टा ढिला हुँदा समेत सुरु भएको छैन ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिन र प्रतिपक्षमा बस्न निर्देशन दिने निर्णय गरेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताउनुभयो ।

प्रवक्ता रुवालीले भन्नुभयो, ‘‘कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।’’

बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाका लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिँदै गुण र दोषको आधारमा प्रतिपक्षीको भूमिकामा रहन कांग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेश कार्यसम्पादन समितिको बैठकले भनेको छ । बागमती प्रदेशमा सबैभन्दा ठूलो दल रहेको कांग्रेसको ३७ जना प्रदेश सभा सदस्य रहेका छन् ।

यस्तै, बैठकले आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपालको हवाई क्षेत्रमा हुने गरेका दुर्घटना न्यूनीकरण गरी शून्यमा झार्ने व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच दलका ७० जना प्रदेश सभा सदस्यको समर्थनसहित जम्कट्टेल मुख्यमन्त्री बन्नुभएको हो । जम्कट्टेललाई नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ ।

यस प्रदेशमा एमालेको २७ जना, नेकपा (माओवादी केन्द्र)को २१ जना, राप्रपाको १३ जना, एकीकृत समाजवादीको सात जना र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचनमा एकीकृत समाजवादी तटस्थ रहेको थियो ।