• १३ असोज २०८१, आइतबार

प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

blog

दरबाङ समाचारदाता 

म्याग्दी (दरबाङ), माघ ३ गते । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एक सामाजिक संस्थाले ४२ लाख रुपियाँ मूल्यको स्वास्थ्य उपकरण सहयोग प्रदान गरेको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङको पहलमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनको कोषले ४२ लाख रुपियाँ मूल्य बराबरको उपकरण खरिद गरी सहयोग उपलब्ध गराएको हो ।

उक्त स्वास्थ्य उपकरण आइतबार एक कार्यक्रमका बीच लायन्स क्लबका एरिया कोअर्डिनेटर राजन लम्साल, लिमिडाइट पास्ट मल्टिपल काउन्सिल अध्यक्ष मनबहादुर रोका र डिस्ट्रिक गभर्नर राम बसेलले गण्डकी प्रदेश सभा सदस्य रेशम जुग्जाली, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र वडाध्यक्ष पथबहादुर रोकामार्फत प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विजय शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । 

करिब ४२ लाख रुपियाँ मूल्य बराबरको ५०० एमए एक्स–रे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, यूएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराइएको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष थमन गौतमले जानकारी दिनुभयो । प्राप्त उपकरणबाट बिरामीको उपचारमा सहज हुने अस्पतालका डा. शर्माले बताउनुभयो ।

प्रमुख अतिथि रहनुभएका प्रदेश सभा सदस्य जुग्जालीले ग्रामीण क्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग गरेकामा क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले उपकरणको प्रयोग गरेर नागरिकलाई सहज रूपमा सर्वसुलभ सेवा उपलब्ध गराउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । 

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्राथमिक उपचार केन्द्र दरबाङलाई स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी भएको बताउनुभयो । क्लबले उपलब्ध गराएको उपकरण अस्पताल सञ्चालनका लागि सहयोगी हुने अध्यक्ष गर्बुजाको भनाइ छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट मालिका, धवलागिरि र मङ्गला गाउँपालिकावासीले स्वास्थ्य सेवा लिँदै आएका छन् ।