• १३ असोज २०८१, आइतबार

बालबालिका विद्यालयबाहिरै

blog

तौलिहवा समाचारदाता

तौलिहवा, माघ ३ गते । हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन हुँदै आए पनि कपिलवस्तुको मायादेवी गाउँपालिकाको चार सयभन्दा बढी बालबालिका  विद्यालयबाहिरै रहेका छन् । 

मायादेवी गाउँपालिकामा ४३९ जना बालबालिका अझै विद्यालयबाहिरै रहेको एक तथ्याङ्कले देखाएको छ । गाउँपालिकाको प्रत्येक वडामा प्रगतिशील युवा सञ्जालले तथ्याङ्क सङ्कलन गर्दा पालिकाभित्र विद्यालय नजाने पाँचदेखि १८ वर्ष उमेर समूहका बालबालिका ४३९ जना रहेका छन् । जसमा केटी २२८ र केटा २११ रहेका छन् । मायादेवी गाउँपालिकामा आयोजना गरिएको विद्यालय नजाने बालबालिकाको तथ्याङ्क प्रस्तुतीकरण तथा सरोकारवाला निकायसँग बाल संरक्षणसम्बन्धी बहस छलफल कार्यक्रममा सो तथ्याङ्क प्रस्तुत गरिएको हो । प्रस्तुत  गरिएको तथ्याङ्कमा पाँचदेखि १० वर्षका ९२, १० देखि १५ वर्षका २०६ र १५ देखि २० वर्षसम्मका १४१ जना रहेको प्रगतिशील युवा सञ्जालकी अध्यक्ष सुनिता कोहारले बताउनुभयो । सोमध्ये २४३ जना घरायसी समस्याका कारण विद्यालय छाडेका, १३४ जनाको इच्छा नभएर र तीन जना शारीरिक अपाङ्गताका कारण विद्यालय नगएका उहाँको भनाइ छ ।

तथ्याङ्कअनुसार मायादेवी गाउँपालिका वडा नं. १ मा ५४, वडा नं. २ मा ११५, वडा नं. ३ मा १६, वडा नं. ४ मा ४६, वडा नं. ५ मा १३०, वडा नंं ६ मा ३४, वडा नंं. ७ मा ५७ र वडा नं. ८ मा ३४ जना बालबालिका विद्यालयबाहिर रहेका छन् ।

विद्यालय जाने उमेरका बालबालिकालाई आउने शैक्षिक सत्रदेखि विद्यालय भर्ना गराउने र १५ देखि २० वर्ष उमेरकालाई विभिन्न किसिमका सीप विकास तालिम दिई स्वरोजगार बनाइने गाउँपालिकाका अध्यक्ष बलिउद्दिन खाँले बताउनुभयो । विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन पालिकाले विशेष योजना बनाएर अगाडि बढ्ने उहाँले बताउनुभयो ।