• ९ जेठ २०८१, बुधबार

सभामुखको निर्वाचन आज

blog

कैलाली समाचारदाता

धनगढी, माघ ३ गते । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि तेस्रो पटक मङ्गलबार निर्वाचन हुँदै छ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सत्तापक्षीय उम्मेदवार भीमबहादुर भण्डारीलाई मत दिने भएको छ । यद्यपि, तत्कालका लागि आफ्ना माग सम्बोधन नभएसम्म सरकारमा नजाने अडान उन्मुक्ति पार्टीको छ ।

पुस ३० गते दोस्रो पटक भएको सभामुखको चुनावमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेपछि सभामुख छानिएको थिएन । ५३ सदस्यीय प्रदेश सभाको ५१ प्रतिशत अर्थात् २७ मत नपाएर सुदूरपश्चिम प्रदेश सभाको सभामुख चुनिन सकेको थिएन । 

पुस २८ को पहिलो चुनावमा नेकपा (माओवादी)का सभामुखका उम्मेदवार भीमबहादुर भण्डारीले पुस २६ र पुस ३० गतेको दोस्रो चुनावमा २२ मत पाउनुभएको थियो  । सत्ता पक्षसँग नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ मत छ ।

विपक्षी गठबन्धनका सभामुखका उम्मेदवार मानबहादुर रावलको पक्षमा नेपाली कांग्रेसका १८, नेकपा (एकीकृत समाजवादी)का चार र स्वतन्त्रका एक गरी २३ मत छ ।

सोमबार सभामुख छान्ने कार्यक्रम भए पनि पोखरामा भएको हवाई दुर्घटनाका कारण मङ्गलबारका लागि बैठक सारिएको प्रदेश सभाका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

सोमबार प्रदेश सभामा बसेको सर्वदलीय बैठकले सभामुख चयनका लागि मङ्गलबार बैठक बोलाउने निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा १८२ (१)मा प्रदेश सभाको पहिलो बैठक भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख छानिसक्नुपर्ने व्यवस्था छ । पहिलो बैठक बसेको दिनलाई गणना गर्दा सोमबार माघ २ गते १५ दिन पुग्छ । 

नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले सभामुख छनोटको प्रक्रिया अघिल्लो साता नै सुरु भएकाले संवैधानिक जटिलता नआउने बताउनुभयो ।