• २३ असार २०८१, आइतबार

सुक्यो तातोपानी मुहान

blog

हुम्ला समाचारदाता

हुम्ला, माघ ३ गते । कर्णाली नदी किनारस्थित खार्पुनाथ शिवालय क्षेत्रका दुुईवटा तातोपानी मुहान सुकेका छन् । तातोपानीको संरक्षण गर्ने नाममा जथाभावी उत्खनन्, घेराबार र सिमेन्ट प्रयोग गरी ट्याङ्की बनाउँदा तातोपानी मुहान सुकेको हो ।

खार्पुनाथ गाउँपालिका–४, नल्नगाउँका रत्नबहादुर शाहीले धेरै पहिलादेखि खार्पुस्थित कर्णाली नदी किनारका दुई मुहानबाट तातोपानी आउने गरेको भए पनि ट्याङ्की बनाउन थालेपछि एकाएक पानी सुकेको बताउनुभयो । गत वर्ष तातोपानीको मुहानलाई संरक्षण र व्यवस्थित गर्नका लागि घेरबार गर्ने, सिमेन्टेड ट्याङ्की निर्माण गरी धारो बनाएपछि पानी सुकेको शाहीले बताउनुभयो । 

पहिले ती मुहानमा मानिस जाने बाटोसमेत असजिलो थियो तर पछि सिमेन्ट ढलान गरेर बाटो बनाइएको थियो । उहाँले तातोपानीका मुहान संरक्षण र व्यवस्थापन गर्ने नाममा अहिले हिउँदको समयमा पानी सुकेपछि मानिसलाई नुहाउन र कपडा धुन कठिन भएको बताउनुभयो । 

बर्खामा भने कर्णालीको बहाव बढ्ने हुँदा ती मुहान नदीमुनि पुग्थे । खार्पुनाथ गाउँपालिकाको कार्यपालिका सदस्य जसमत शाहीले राम्रो गर्न खोज्दा तातोपानी नै सुकेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले निर्माण कम्पनीले व्यवस्थित बनाउने क्रममा मूलमा सिमेन्ट राम्रोसँग नलगाएका कारण पानी भित्रभित्रै पत्तालिएर सुकेको हुन सक्ने बताउनुभयो ।