• १० मंसिर २०८१, सोमबार

श्रीकृष्ण बरुणेश्वर महादेवको दर्शन गर्नेको घुइँचो

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २ गते । तोखा नगरपालिका १ र ६ मा पर्ने श्रीकृष्ण बरुणेश्वर महादेवको ऐतिहासिक मन्दिरमा भक्तजनको घुँइचो लाग्नेगरेको छ । मन्दिरमा खासगरी आन्तरिक पर्यटक तथा भक्तजनको बढी भीड लाग्नेगरेको मन्दिरका पूजारी राजु काफ्लेले बताउनुभयो ।

पौराणिककालमा आफै उत्पत्ति भएको विश्वास गरिने सो ऐतिहासिक मन्दिरमा भाकल गरेमा मनोकामना पूरा हुने हुनाले भक्तजन बढी आउने पूजारी काफ्लेको विश्वास छ । काठमाडौंको सामाखुशी चोकबाट ७ किलोमिटर तथा रत्नपार्कबाट करिब १० किलोमिटर उत्तरतर्फ दूरीमा रहेको महादेवको दर्शनका लागि युवायुवतिहरु बढी आउने मन्दिरका पुजारी काफ्लेले जानकारी दिनुभयो ।

मन्दिर गुफाभित्र रहेको छ । ढुंगाको कापमा अवस्थित महादेवको मन्दिर छेउमा ढुंगाको भित्रबाटै झरना बगेको छ । सो झरनाको पानीमा नुहाउनाले छालाका सबै रोग निको हुने, नसासम्बन्धी रोगहरु निको हुनेगरेको भक्तजनको भनाइ रहेको पुजारी काफ्लेले सुनाउनुभयो । त्यससँगै सन्तान प्राप्ती, वर नपाएका युवतिलाई राम्रो वर र दुलही नपाएका युवालाई असल दुलही प्राप्त हुने विश्वास भक्तजनहरुको छ । 

हरेक वर्ष साउनमा विशेष मेला लाग्ने महादेवको मन्दिरमा सार्वजनिक विदाका दिन आन्तरिक पर्यटक बढी आउने गरेको उहाँले बताउनुभयो । विदाका दिन दैनिक तीन सय देखि चार सयसम्म आन्तरिक पर्यटक तथा भक्तजन आउनेगरेको उहाँको भनाइ छ ।

मुल सडकबाट करिब अढाई सय खुडकिलो ओर्लेपछि गल्छीमा महादेवको मन्दिर अवस्थित छ । भक्तजनलाई मन्दिरसम्म पुग्न सहज भए पनि उक्लिन समस्या हुनेगरेको पुजारी काफ्लेले बताउनुभयो । भक्तजनको सहजताका लागि सबै खुडकिला पक्की बनाए पनि ठाडो उकालोका कारण बढुाबुढी तथा दम रोग भएकालाई दर्शनमा समस्या हुनेगरेको उहाँको भनाइ छ । 

भक्तजनहरुलाई महादेवको दर्शनका लागि गुफाभित्र पस्नुपर्ने हुन्छ । गुफाभित्र महादेव विराजमान रहनुभएकाले दर्शन गर्न गुफाभित्र पस्नुपर्छ । भक्तजनलाई दर्शनका लागि सहज होस् भनेर नगरपालिकाले गुफाभित्र बत्तीको व्यवस्था गरेको छ । बत्ती गएकाबेला पूरै गुफा अँध्यारो हुने भएकाले मोबाइलको बत्ती बालेर दर्शन गर्नुपर्ने बाध्यता रहेको पूजारीको भनाइ छ ।