गोरखापत्र अनलाइन
काठमाडौं, माघ १ गते । नयाँ वर्षको रूपमा उल्लासमय रूपले मनाउने माघी महोत्सवमा यसपालि पहिलेजस्तो रौनक हुन पाएन । टुँडिखेलमा माघी महोत्सव मनाउन जम्मा भएका थारु युवा युवतीहरू जब यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएर विमानमा सवार भएकाहरू सबैको देहान्त भएको खबर पाएपछि उनीहरूको उत्साह एकाएक शोकमा बदलियो ।
औपचारिक कार्यक्रममा बोल्ने वक्ताहरूले माघीको सामान्य शुभकामनासहित विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेर मन्तव्य समापन गरे । माघ १ गते थारु समुदायको खुसीयालीको दिन हो । दुःखद घटनाको खबरले खुसीयाली दुःखमा परिणत भएपछि महोत्सव पहिलेजस्तो उल्लासमय हुन पाएन । टुँडिखेलमा रमाइलो गर्न खचाखच जम्मा भएका दर्शकहरू सामान्य खानपान गरी बाहिरिए ।
रमाइलो गर्ने मुड नै दुःखद खबरले एकाएक खल्लो भयो कञ्चनपुरका युवा सन्तवीर चौधरीले भन्नुभयो, “नयाँ वर्षको दिन, माघी उत्सवमा रमाइलो गर्ने भनेर टुँडिखेल आएका थियौँ, आउने बित्तिकै स्टेजबाट दुःखद घटना भएको खबर पाएपछि मन खल्लो बन्यो, पानी मात्र खाएर फर्किदैछौं ।”
उहाँको जस्तो दुःखका कुरा अर्का सहभागीले पनि सुनाउनुभयो । सप्तरीका अनुष्का चौधरीले भन्नुभयो, “महोत्सवमा रमाइलो गर्ने र राम्रो व्यापार गर्ने भनेर स्टल लिएका थियौँ, दुःखद खबरले एकाएक महोत्सवको माहौल परिवर्तन भयो । स्टलमा हुने व्यापार पनि पातलियो । महोत्सव र रमाइलो त अरू वर्ष पनि गर्न सकिन्छ, तर ज्यान गुमाउनेहरू फर्केर आउन सक्दैनन्, यस्तोबेला हामीले रमाइलो गरेर बस्न पनि मिलेन ।”
महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गरिएको थियो । माघी महोत्सव मूल आयोजक समितिका सदस्य सचिव कानुनलाल चौधरीले भन्नुभयो, “देश सङ्कटमा परेपछि सरकारको जिम्मेवारी र व्यवस्थापनका कारण प्रधानमन्त्री आउन नसक्ने खबर पठाउनुभयो, दुःखद क्षणमा हामीले उहाँको सन्देश ग्रहण गरेर सामान्य रूपमा महोत्सव मनायौँ ।” औपचारिक कार्यक्रममा हरेक वक्ताहरूले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेर आफ्नो धारणा राख्नुभएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्ड महोत्सवमा अनुपस्थित हुनुभएपछि थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले महोत्सवको उद्घाटन गर्नुभयो । उहाँले श्रद्धाञ्जली व्यक्त गरेर छोटो मन्तव्य राख्दै समापन गर्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्ने वक्ताहरू कन्नुलाल चौधरी, अमनलाल मोदी थारु, लक्की चौधरी, मीनराज चौधरी, सीताराम चौधरी, बुद्धसेन चौधरी, सहदेव चौधरी, गीता चौधरी, भगवती चौधरीलगायतले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संक्षेपमा धारणा राख्नुभयो ।
आज साँझसम्म मनाइने माघी महोत्सवमा आएका दर्शक र अवलोकनकर्ताले दुःखद खबर सुनेपछि महोत्सवबाट बाहिरिएपछि महोत्सवले लय समात्न सकेन । करिब एक सय वटा स्टल राखेर महोत्सवको भव्य तयारी गरिए पनि दुःखद खबरले महोत्सव उल्लासमय बन्न नसकेको थारु विद्यार्थी समाजका केन्द्रीय सदस्य तथा आयोजक समितिका सदस्य चन्द्रप्रसाद चौधरीले बताउनुभयो । “महोत्सव सुरु भइसकेपछि विमान दुर्घटनाको खबर आएकाले सामान्य रूपमै महोत्सव चल्यो” उहाँले भन्नुभयो ।