• ११ मंसिर २०८१, मङ्गलबार

कागलाई दाउन राखेका सेलरोटी

blog

बैतडी समाचारदाता

बैतडी, पुस १ गते । कागलाई दाउन राखेर पकाएका सेलरोटी दिएर सुदूरपश्चिममा नरहरी पर्व मनाइँदै छ । पुस ३० गते राति मीठा परिकार पकाएर माघ १ गते बिहान कागलाई सेलरोटी दिएर नरहरी पर्व मनाउने चलन रहेको छ । नरहरीलाई माघी पर्व र माघेसङ्क्रान्ति पनि भन्ने गरिन्छ । 

नरहरी मान्न पुस मसान्तमा दिनभरि तरुल खन्ने, गुड पकाउने र सेलरोटीमा राख्ने दाउन खोज्ने गरिन्छ । स्थानीय गिठी, सिमल, भिमललगायतका रुखका बोक्राबाट दाउन तयार गरिन्छ । पछिल्लो समय स्थानीय खानाका परिकार सेलरोटी र माणामा दाउनको सट्टा बजारमा पाइने खाने सोडा मिसाउने गरिएको छ । 

वनजङ्गल जान अल्छी मान्नेहरूले खाने सोडाको प्रयोग गरे पनि आफूले जङ्गलबाट दाउन नै खोज्ने गरेको स्थानीय श्याम भट्टले बताउनुभयो । नरहरी पर्व सुदूरपश्चिमको मौलिक चाड भएकाले वनजङ्गलबाट दाउन नै खोज्ने गरेको उहाँले बताउनुभयो । दाउन राखेर पकाएका सेलको स्वाद अत्यन्तै मीठो हुने भएकाले यस्ता प्राकृतिक खानेकुरा मिसाइने चलन रहेको स्थानीय ८२ वर्षीय ज्येष्ठ नागरिक वीरबहादुर चन्दले बताउनुभयो । 

नरहरी पर्वमा विशेष गरेर कागलाई स्थानीय खानाका परिकार सेलरोटी दिएर मनाइने चलन रहेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताउनुभयो । सुदूरपश्चिम मानसखण्डमा कागको वर्षमा दुई पटक पूजा हुने गरेको उहाँले बताउनुभयो । नरहरी पर्वमा मीठा परिकार खान स्थानीयले उखु पेलेर गुड पकाउने चलनसमेत रहेको उहाँले बताउनुभयो । गुड (सखर) राखेर स्थानीय खानाको परिकार ‘प्वा’÷‘झज्या’ पकाउने चलन रहेको छ । 

पहिलो खाना कागलाई नरहरी पर्व मनाउन पुस मसान्तको राति नै खानाका परिकार पकाउने गरिन्छ । परिकार पकाउँदा पहिले कागलाई दिने सेलरोटी अलग गरेर केराको पात अथवा स्थानीय मालुको पातमा बेरेर पूजाकोठा अथवा शुद्ध पवित्र ठाउँमा राखिन्छ । कागका लागि परिकार छुट्याएर राखेपछि मात्रै घर परिवारका सदस्यले खानेकुरा ग्रहण गर्ने चलन रहेको छ ।  

बेलुकी नै पकाएर तयार गरेका खानेकुरा माघ १ गते बिहान बालबालिकाले कागलाई बोलाएर दिने चलन रहेको छ । कागलाई शुभ खबर ल्याउने चराका रूपमा परापूर्वकालदेखि मानिँदै आएको छ । कागलाई रोटी दिनुअघि बालकालिकाले कुवा र धारामा स्नान गरेर घरको धुरीमा स्थानीय खानाका परिकार सेलरोटी, माणा, बटुक राख्ने चलन रहेको सहित्यकार कर्ण दयाल सोराडीले बताउनुभयो । 

माघ १ गते बिहान गाउँभरिका बालबालिकाले “का कौवा, मेरो सेलरोटी खा !” भन्दै कागलाई बोलाउँदा गाउँनै गुञ्जायमान हुने गर्छ । कागले रोटी खाएर अघाएपछि सेल लुकाउने गर्छ । कागले लुकाएको सेलरोटी खोजेर गाईलाई खान दिने चलनसमेत रहेको छ । काग अघाएपछि लुकाएर राखेको सेलरोटी गाईलाई खान दिए माले बाच्छो जन्मिन्छ भन्ने जनविस्वास रहेको छ ।