• १३ असोज २०८१, आइतबार

पोखरामा तीस मेट्रिक टन तरुल आयात

blog

पोखरा समाचारदाता

पोखरा, पुस १ गते । माघेसङ्क्रान्तिको विशेष परिकार तरुल बेच्न स्थानीय किसान तथा व्यापारीलाई यतिबेला चटारो छ । माघेसङ्क्रान्ति मुखैमा आइपुग्दा खेतमा लगाएको तरुल खनेर बजारसम्म पु¥याउन भ्याइनभ्याइ छ भने तरुल किन्नेहरूको पनि बजारमा त्यतिकै भीड देखिएको छ । 

पोखरामा यस वर्ष करिब ३० मेट्रिन टन तरुल भित्रिएको अनुमान गरिएको छ । कृषि बजार व्यवस्थापन समिति शान्तिवनका योजना सहायक रुपा दाहालका अनुसार धादिङ, नवलपुर, गोर्खा, नारायणघाट, चितवन, कास्की र तनहुँ जिल्लाबाट यतिको तरुल आयात भएको अनुमान गरिएको छ । 

तर यहाँ भारतबाट समेत तरुल आयात गरिएको पाइएको छ । विगत वर्षका तुलनामा यस वर्ष तरुल आयात कम भएकोे व्यापारी कुमार लामाको भनाइ छ । तरुल लगाउन सजिलो भए पनि ज्याला र ढुवानी खर्च बढी हुँदा बजारमा तरुलको मूल्य बढेको उहाँको भनाइ छ ।

भैसे, पञ्जे, राजा, वन तरुल, सिमललगायत अन्य स्थानीय प्रजातिका तरुल बजारमा आएका छन् । बजारमा वन तरुलको मूल्य प्रतिकेजी १५० देखि २५० रुपियाँसम्म रहेको छ । करिब ३० देखि ४० लाख बराबरको व्यापार गरिएको बताइएको छ । म्यादीबाट व्यापार गर्न पोखरा आउनुभएका शिव विक तरुल लगाउन सजिलो भए पनि खन्नका लागि ज्याला थोरै हुने भएकाले खन्नुपर्ने समस्याका कारण मूल्य बढेको बताउनुहुन्छ ।

वर्षमा पर्ने १२ वटा सङ्क्रान्तिमध्ये माघेसङ्क्रान्तिलाई विशेष रूपमा मनाइन्छ । माघेसङ्क्रान्ति, तिलुवासङ्क्रान्ति, मकरसङ्क्रान्ति वा माघीका रूपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महोत्वका साथ यो पर्वलाई मनाउने चलन छ । माघेसङ्क्रान्तिमा विशेष गरी शरीर तातो बनाउने खानेकुरा बनाएर खाने प्रचलन रहेको बताइन्छ । 

पोखराको थोक बजारको रूपमा कृषि बजार व्यवस्थापन समिति शान्तिवन रहेको छ । यहाँबाट खुद्रा व्यापारीले तरुल खरिद गरी २५ देखि ३० रुपियाँ नाफा लिएर बाहिर बजारमा बेच्ने गरेका छन् ।