• १८ मंसिर २०८१, मङ्गलबार

ऐतिहासिक प्राचीन कन्यामाई र बैरीमाई मन्दिर(फोटो फिचर)

blog

रुपन्देही, पुस ३० गते । रुपन्देही जिल्लाको देवदह नगरपालिका  वडा नं. ७ कन्यामाईमा अवस्थित रहेको प्राचीन कन्यामाई र वैरीमाईका मूर्तिहरू। यस मन्दिरको गर्भ गृहमा रहेका निकै नै कलात्मक शैलीका विभिन्न आकारका साथै केही मूर्ति स्त्रीको रूपमा पनि देखिन्छ। यी मूर्तिहरू केही वर्ष अगाडी यत्र तत्र छरिएर रहेका थिए।

यस स्थलमा पहिला निकै नै ठुलो जङ्गल थियो र यही स्थलमा स्थानीय गोठालाहरू गाई वस्तु चराउने क्रममा गोठालाको खुट्टामा लागेर हेर्दा विभिन्न आकृतिका मूर्तिहरू फेला परेको स्थानीयवासी देवी बस्याल बताउँछिन्। उक्त मूर्तिलाई २०२३ सालमा एकत्रित गरी माटोको मन्दिर बनाएर राखियो र त्यसमध्ये केही मूर्तिहरू चोरी समेत भएको बस्याल भन्दछिन्। २० वर्ष पहिला यो कच्ची हाल आएर सानो पक्की मन्दिर बनाइएको छ।  यस मन्दिरमा नवदुर्गा पूजामा ९ दिन पण्डित राखेर विशेष पूजा अर्चना गरिन्छ। उक्त दिन स्थानीय भक्तजनहरूको पूजा अर्चना गर्ने भिड समेत लाग्दछ।  लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल कुमार शर्माका अनुसार मन्दिर नजिक रहेका प्राचीन अवशेषहरू गुप्तकालिन रहेको र १४औ/१५ औ शताब्दीमा यहाँ निर्माण कार्य भएको पाइन्छ। 

यस मन्दिरमा पहिला बलि दिइन्थ्यो तर यस मन्दिर नजिक प्राचीन गुप्त कालिन  भग्नावशेषहरू पनि रहेको हुँदा यस मन्दिरमा हाल कुनै पनि किसिमको बलि दिइँदैन। यहाँका मूर्तिहरूका दृश्यहरू हेर्दा यो ठाउँमा धेरै किसिमका मूर्तिहरू भएको अनुमान गर्न सकिन्छ।  यी प्राचीन मूर्तिहरू कालो प्रस्तरको विभिन्न आकृति र निकै नै कलात्मक शैलीका रहेका छन्। हाल यस मन्दिर र गुप्त कालिन भग्नावशेष वरिपरि मर्मत सम्भारको कार्य भइरहेको छ। मन्दिर संरक्षण र व्यवस्थापनको लागि श्री चुरामणि गैरैको अध्यक्षतामा देवदह बैरीमाई कन्यामाई संरक्षण समिति समेतको व्यवस्था गरिएको छ।