• १० मंसिर २०८१, सोमबार

बोधगम्य कामुक

blog

कलानेपाली समाजमा यौन एउटा अदृश्य ऐना हो, जहाँ सबै कुरा छर्लङ्ग देखिन्छ तैपनि सबै कुरा लुकाइन्छ । लुकाइँदा–लुकाइँदै कतिपय संस्कारयुक्त दृश्य पनि यही समाजमा छन् । तिनले यौनलाई गोप्य राख्दैन । शिक्षाप्रद ढङ्गले खुलेआम आफ्नो मनसाय बताउँछ । त्यो हो कामुक कला, जुन हरेक दिन पुजिने देवी–देवताका मन्दिरका टुँडालमा छरप्रस्ट छन् । 

कतिपय कामुक कलाले यौन सम्बन्धको माध्यम प्रेम हो भनेर सदाचारिता देखाउँछ । कतिपय कलाले चुम्बन, आलिङ्गन अनि स्पर्शजस्ता बाह्य आशक्तिले मात्र प्रेमपूर्ण हुँदैन भन्छ । मानवसृष्टि चलाइराख्न त्यो प्रणय चरम हुनैपर्छ । त्यही चरम प्रेम नै सम्भोग हो भनेर स्पष्ट भन्छ । 

आचार्य रजनीशचन्द्र मोहन ‘ओशो’ सम्भोग नै प्रेमको प्रमुख बिन्दु भएको स्वीकार गर्नुहुन्छ । उहाँका अनुसार यौनलाई घृणाको नजरले हेर्नेले कहिल्यै प्रेम गर्न सक्दैनन् । ओशोका अनुसार सम्भोग र समाधिबीच प्रेमको पुल, यात्रा र बाटो हुन्छ । ‘सम्भोगदेखि समाधिसम्म’ नामको आफ्नो प्रवचनमा उहाँले भन्नुभएको थियो, 

‘मानिसको अन्त्य चिहान हो भने सम्भोग जीवनयात्राको सिंढीको पहिलो पाइला हो । अहिलेसम्म मानिसले यौनलाई दुव्र्यवहारबाहेक अन्य कुनै सम्मान दिएको छैन । उहाँ भन्नुहुन्छ, “हामी सेक्सको बारेमा कुरा गर्दा पनि डराउँछौँ, तर सत्य यो हो कि मानव जीवनमा योभन्दा महìवपूर्ण केही छैन ।”

यौनसँग डराउने होइन, यसलाई छलफल गरेर बुझ्ने प्रयास गर्न युवावर्गलाई ओशो सुझाउनुहुन्छ । प्रेमको सम्पूर्ण यात्राको मुख्य बिन्दु यौनसम्बन्ध हो । सम्भोगको शक्तिले प्रेम बन्छ । सम्भोग भनेको ऊर्जाको तलतर्फ बहने र बग्ने प्रक्रिया हो । ब्रह्मचर्य भनेको ऊर्जाको माथिको गति हो । अर्थात् माथि उठ्नु हो ।

उहाँ पतिपत्नीको सम्बन्धलाई मन्दिरसँग जोड्नुहुन्छ । प्रवचनका क्रममा उहाँको भनाइ यस्तो छ, “पति पत्नीकहाँ यसरी जानुपर्छ जसरी कोही मन्दिरमा जान्छ, पत्नीले पतिसँग यसरी जानुपर्छ जसरी कोही भगवान्कहाँ जान्छ किनभने जब दुई प्रेमीले यौनसम्बन्ध राख्छन्, तिनीहरू वास्तवमा भगवान्को मन्दिर बन्दै जान्छन् ।”

नेपालका धेरैजसो प्यागोडाशैलीका मन्दिरमा देखिने कामुक कलाको भाव पनि यही हो । तर यी कामुक कला महिला पुरुषबीचको प्रेम र सृष्टि सिर्जनासँगै धार्मिक तथा तान्त्रिक मान्यतासँग पनि जोडिएका छन् । 

अलौकिक कामुक कला

विशेषगरी नेपाल र भारतका प्यागोडा शैलीमा बनेका हिन्दु मन्दिरमा कामुक कला पाइन्छ । मन्दिरका टुँडालमा रहेका कामुक कला गैरहिन्दु वैज्ञानिकका बीचमा अझै बहसको विषय छ । काठमाडौँ उपत्यकाका मन्दिरमा रहेका कामुक कलाको बारेमा केही अध्ययन नेपालमा भएका छन्, जसमा नेपाल र विदेशी अध्ययेताले खोज गरेका छन् । तीमध्ये शुक्रसागर श्रेष्ठ र वोल्फगंक कोर्नले अध्ययन गरेर लेख्नुभएको उपत्यकाका मन्दिरका टुँडालमा कुँदिएका कामुक कलाको पुस्तक प्रचलित छ । यसमा मानिस, जनावर र नचिनिने आकृतिसहितका कामुक कलाको फेहरिस्त प्रस्तुत गरिएको छ । 

उपत्यकामा शिखर, स्तूप र प्यागोडा गरी तीन शैलीका मन्दिर छन् । अघिल्ला दुई शैलीमा कामुक कला न्यून पाइन्छ । प्यागोडा शैलीका मन्दिरमा पनि शिव र नारायणको मन्दिरमा यी कला बढी पाइएको अध्ययनले बताउँछ । अध्येता टक्सीले नेपालका मूर्ति र मन्दिरमा कुँदिएका टुँडालका कामुक कला भारतको खजुराओ, उडिसाका मन्दिरमा कुँदिएको तुलनामा अत्यधिक प्रेमिल र सङ्ग्रहणयोग्य छन् । अध्येता कोर्मका अनुसार भने नेपाल घुम्न आउने विदेशी पाहुनाहरू कामुक कलालाई मात्र ‘डर्टी पिक्चर’का रूपमा स्मार्ट फोन र क्यामेराले खिचेर आफ्ना परिवार र साथीभाइलाई रमाइलोका लागि देखाउन पुग्छन् । तर स्थानीयबासी आफ्ना बालबालिकालाई लाज नमानी राजपरिवारको मनोरञ्जनसँग जोडेर कामुक कलाको व्याख्या विश्लेषण गर्छन् ।

कामुक कलाको उद्भव

कामुक कलाको इतिहास भारतवर्षसँग जोडिएको पाइन्छ । केही विवादित भए पनि करिब १००० बिसीमा निर्मित टेराकोटाको कचौरामा कोरिएको कामुक चित्र पुरानो मानिन्छ । विवाहित जोडीहरूले पहिलो शताब्दीताका प्रजननकी देवीका रूपमा त्यस्ता कलात्मक चित्रहरूलाई पूजिने गरिएको तथ्य पाइन्छ । दोस्रो शताब्दीपछि भने दुई वा सामूहिक कामुकताका चित्र टेराकोटामा कोरिएको पाइएको छ । सन् १९२१ मा जर्मनका विलियम कोहेनद्वारा प्रकाशित ‘इन्डिस्क प्लास्टिक’ नामक पुस्तकमा उल्लेख भएअनुसार पहिलो र दोस्रो शताब्दीमा नग्न र अर्धनग्न देवीदेवताका चित्र ढुङ्गा हुँदै काठ र इँटाका संरचनामा कुँदिएका भेटिए, जसले धार्मिक संवेदनायुक्त प्रेमको प्रतिनिधित्व गथ्र्यो । हिन्दुधार्मिक मान्यतामा निर्मित चित्रकला र ढुङ्गे मूर्ति कलाले पनि कामुक कलाको प्रसार गरेको छ । 

नेपालमा कामुक कलाको इतिहास नियाल्दा टेराकोटामा कोरिएको अर्धनग्न कलाचित्र मानिन्छ । त्यो कलाचित्र शाही भेषभूषामा एक अर्ध नग्न पुरुषको रहेको पूरातìव विभागको अध्ययनले बताउँछ । कुनै पनि धर्मले सिधै यौन सम्बन्धलाई स्वीकार गर्दैन । एउटा प्राकृतिक सन्तुष्टिको आधार मात्र मान्छ । त्यसैले हिन्दु, बौद्ध र तन्त्रविद्यासँग जोडिएका पौराणिक कथा, ब्रह्माण्ड विज्ञान र दर्शनमा मानवीय सम्भोगलाई निच कर्मका रूपमा इङ्गित गरिएको पाइन्छ । तर दैविक शक्तिले गर्ने त्यस्ता क्रियाकलापलाई पवित्र मानेर पुजिन्छ ।

कामसूत्र कामुक कलाको आधार हो भन्नेमा विज्ञहरूको दुईमत छैन । वात्सायनले सङ्कलन गरेको स्मृतिग्रन्थ ‘कामसूत्र’मा धार्मिक पात्र कामदेव र रतिका अनेक भावभङ्गीमा सहित कामकलाको विशेष व्याख्या गरिएको छ । मानिसले जन्मेपछि गर्नुपर्ने मुख्य कर्तव्यभित्र धर्म, काम र अर्थ रहन्छ । काम अन्तर्गत प्रेम, सम्भोग अर्थात् रतिरागका क्रियाकलाप पर्छ । सम्भोगका क्रममा हुने मैथुनप्रक्रियामा एक व्यक्तिको आत्मा अर्को व्यक्ति वा विश्वसँग समाहित हुन्छ भन्ने विश्वास गरिन्छ, जुन मानवको अर्थ र काम उद्देश्य पूर्तिमा सहायक हुन्छ भन्ने मान्यता रहेको छ ।

नेपालको कामुक कलालाई द्वापरयुगका भगवान् श्रीकृष्णको राधा अनि सोह्र सय गोपिनीको प्रेमलीलासँग पनि जोडिन्छ । अति गोप्य अनि दिनमा गर्नै नहुने क्रियाकलापका रूपमा नेपाली समाजले सम्भोगलाई लिन्छ । त्यस्तो यौन अभ्यासलाई मन्दिरका टुँडालमै राखेर सार्वजनिक गर्नुमा पनि प्रशस्त वादविवाद नभएका होइनन् । तर पनि मन्दिरका कामुक कलालाई लिएर दार्शनिक सिद्धान्तका रूपमा केही कारणहरू शुक्रसागर श्रेष्ठलगायत विज्ञहरूले औँल्याउनु भएको छ । 

किन बनाइन्छ कामुक कला ?

धार्मिक मान्यताले सम्भोगलाई धर्मकै एक भाग माने पनि यसको प्रचारलाई विवाहअघि वा पछिका लागि आवश्यक यौन शिक्षा मानिएको छ । कामसूत्र लिखित हो भने कामकला अभिव्यक्त कला हो । साथै समाजमा गर्न हुने र गर्न नहुने कार्यको व्याख्याका रूपमा पनि कामुक कलालाई लिइन्छ । मन्दिरको माथिल्लो छानामा रहेका दृश्यलाई सदाचार र तल्लो छानामा हुने यस्ता कामुक कलालाई गर्न नहुने कामका रूपमा शिक्षा लिन सुझाएको मानिन्छ । हुन पनि प्यागोडा शैलीको मन्दिरको पहिलो छानामुनिको टुँडालमा फूलका सुन्दर कला कोरिन्छन् । दोस्रो छानामुनिको टुँडालमा देवीदेवताका अनेक स्वरूप कुँदिन्छन्, तल्लो तलाको टुँडालमा मात्र कामुक कला कुँदिएका भेटिन्छन् । 

पहिलेको नेपालमा जनसङ्ख्या थोरै थियो । जनसङ्ख्या वृद्धि गरेर देशलाई देशजस्तै बनाउन टुँडालका कामुक आसनले सघाउने विश्वास गरिन्थ्यो । आममानिस मन्दिरमा दिनदिनैजसो भगवान्को दर्शनका लागि आइरहँदा हरेक दिन त्यस्ता दृश्य देखेपछि त्यस्तै आसनमा रतिरागमा संलग्न हुँदा सन्तान उत्पादन बढ्ने अपेक्षा तत्कालीन शासकहरूले गरेको अनुमान छ । त्यसैले युवावर्गलाई सुषुप्त यौनशिक्षा दिएर सन्तान उत्पादनमा सक्रिय गराउन सकिने अभिलाषा त्यस्ता कामुक कलाको साहरा लिइएको ठानिन्छ । 

यौनको भाषा बोल्ने कामुक कलालाई ती मन्दिरको आकर्षणको केन्द्र पनि ठानिन्छ । मानिस पूजा गर्नकै लागि हरेक दिन मन्दिर नआउन सक्छन् । बारम्बार मन्दिरमा भक्तजनको आवतजावत बढाउन कामुक कलाको सहायता लिइएको हो भन्ने अर्कोथरि मत छ । वसन्तपुरको जगन्नाथ मन्दिर, पाटनको कृष्ण मन्दिर होस् वा देउपाटनको पशुपतिनाथ नै किन नहोस्, मानिसको नजरमा कम परेका मन्दिरलाई प्रसिद्धि दिलाउन ती मन्दिरमा भगवान् शिव–पार्वती तथा राधा–कृष्णको चामत्कारिक रतिरागका आसनहरूले सहयोग गरेको दाबी विज्ञहरूको छ । विज्ञहरूका अनुसार टुँडालमा कलात्मकताले ओतप्रोत कामुक कलाले सोन्दर्यको बेग्लै बोली बोल्छन् ।

अध्येता मजपुरिया आत्मिक पूर्णताको पथ भएको र यसले मानिसको भित्री तहमा पुगेर बाह्य सिर्जनामा सघाउने विश्वास गर्नुहुन्छ । उहाँका अनुसार तान्त्रिकहरू आत्मिक कार्यान्वयनका लागि सीमित क्षेत्रमा स्वच्छन्द यौनको पक्षधरता व्यक्त गर्छन् । तन्त्रविद्याले यौन प्राथमिक इच्छा हो, जसले भविष्यको विश्व सिर्जनाको जिम्मेवारीको बोध गराउँछ भन्नेमा विश्वास राख्छ ।

कामुकता जीवन चक्रकै एक तìव हो । मन्दिरका कामुक दृश्यहरूले जीवनमा गुमाएर पनि रमाउनुपर्ने त्यस्ता तìवका बारेमा अघोषित रूपमा जानकारी दिन्छ, जसले महिलाको प्रजनन र पुरुषको भाग्यवादको आधुनिक धारणसँग सामाञ्जस्यता राख्ने गर्छ । 

धार्मिक सांस्कृतिक सम्पदाको निर्माण गर्नु आफैँमा चुनौती हो । त्यसको दीर्घकालीन संरक्षण अर्को चुनौती मानिन्छ । नेपालका मन्दिरमा आइपर्ने प्राकृतिक विपत्लाई टाढा राख्न कामुक कलाको प्रयोग गरिएको प्राचीन धारणा छ । विशेषगरी कामुक कलायुक्त मन्दिरमा चट्याङ पर्दैन किनभने चट्याङकी देवी आफैँमा कुमारीत्वको प्रतिरूप हुन् । कुमारीत्व भङ्ग भएका कामुक कलायुक्त मन्दिरमा पर्दा आफू अपवित्र हुने भएकाले चट्याङ पर्दैन भन्ने मान्यता छ । 

मूर्तिकला र दर्शनको सम्मिश्रण

मन्दिरको सौन्दर्य वृद्धिका लागि मूर्तिकला र दर्शनशास्त्रको सम्मिश्रणका रूपमा कामुक कलाको विकास भएको मान्यता पनि विज्ञहरूले अगाडि सारेका छन् । त्यसैले चलाख पुजारी, मूर्तिकार र निर्माणकर्ताले मन्दिरको साजसज्जाको कलात्मकलाई विशेष बनाउन त्यस्ता कला कुँदेको हुनसक्ने दाबी पनि गरिएको छ । 

हनुमानढोका दरबार परिसरका जगन्नाथ मन्दिर, इन्द्रपुर मन्दिर, नौतले दरबार, नासलचोक, मोहचोक आदि कामुक कलायुक्त मन्दिरहरू हुन् । त्रिदेवी मन्दिर (ठमेल चोक), गणेश मन्दिर (यट्खा टोल), हरिशङ्कर मन्दिर (चिँकमुगल), लक्ष्मीश्वर (टेकु) आदि काठमाडौँका कामुक कलायुक्त मन्दिरहरू हुन् । यस्तै ललितपुरका चर नारायण मन्दिर, मनिमण्डप, देगु तलेजु मन्दिर, दक्षिण तलेजु मन्दिर, जीना बहालको गणेश मन्दिर आदि यो कला भएका मन्दिर हुन् । भक्तपुरमा यक्षेश्वर मन्दिर, उमामहेश्वर मन्दिर, ऐसामाडु सत्तल, दत्तात्रय मन्दिर आदि रहेका छन् । यीबाहेक काठमाडौँ उपत्यकाको छेउ काभ्रे तथा भित्री सहरका विभिन्न टोलका मन्दिर, पाटी तथा सत्तलहरूका टुँडाल र खाँबाहरूमा कामुक कला कुँदिएका पाइन्छन् । 

ब्रह्मचर्य जोगाउन हनुमानजीले छोपे आँखा

कामुक दृश्य आममानिसले अझै पनि सामूहिक रूपमा हेर्न आँट गर्दैनन् । घुमफिर गर्दा देखिहाल्यो भने कसैले देख्यो कि भनेर अप्ठ्यारो मानिन्छ । एक्लैदुक्लै हेर्दा हेर्नेका मनमा यौन स्वछन्दताले छुट्टै मनोचञ्चलता छाउने गर्छ । त्यस्ता दृश्यहरू जुन कामदेव र रतिका अतिरिक्त सबैका लागि गोप्य रहने चलन आदिकालदेखि चलिआएको छ । वसन्तपुर दरबारको पश्चिमी द्वारमा पञ्चमुखी हनुमानको तान्त्रिक मूर्ति छ । तत्कालीन कान्तिपुर नगरीका राजा प्रताप मल्लको पालामा हनुमानढोका दरबारलाई शत्रु, भूतपिशाचजस्ता नकारात्मक ऊर्जाबाट बचाउन हनुमानको तान्त्रिक मूर्ति स्थापना गरिएको धार्मिक मान्यता छ । हनुमानको यति अजङ्गको तान्त्रिक मूर्ति नेपालमा मात्र छ । आँखामा रातो पट्टी बाँधेको हनुमानले आफू स्वयं पनि नकारात्मक दृश्य हेर्दैनन् । 

हनुमानढोका दरबारको पश्चिमी ढोकाको दायाँपट्टि रहेको मूर्तिको आँखा सोझै अघिल्तिरको जगन्नाथ मन्दिरमा पर्छ । मन्दिरका तल्लो प्यागोडा छत्रमुनिका टुँडाल प्रणयचित्रले भरिएका छन् । हनुमानजी स्वयं एक ब्रह्मचारी हुन् । हनुमानढोका दरबारका पूर्व प्रमुख तथा पूरातìवविद् तेजरत्न ताम्राकारले भन्नुभयो, “कुनै महिलाको स्पर्श नलिने हनुमानजीले प्रणयचित्र हेर्दा उहाँको ब्रह्मचर्य हरण नहोस भनेर नै प्राणप्रतिष्ठा कालमै आँखामा रातो पट्टि बाँधिएको हो ।”

ब्रह्मचर्यमा लीन हनुमानजीको दैनन्दिनी विपरीत जगन्नाथ मन्दिरका टुँडालहरूमा अङ्कित प्रणयचित्रमा प्रेममा मग्न महिला–पुरुषको समागमका अनेक आसनयुक्त दृश्यावली प्रस्तुत गरिएका छन् । मन्दिरका टुँडालमा प्रणयलापका चौरासी आसन छन्, जसले मानव सिर्जनालाई अभिप्रेरणा दिने र मन्दिरलाई चट्याङजस्ता आकाशे ऊर्जाबाट बचाउन सघाउने विश्वास रहेको ताम्राकार बताउनुहुन्छ । 

हनुमानजीको आँखा किन रातो कपडाले ढाकेको भन्ने सबाल जिज्ञासाको विषय थियो । ताम्राकार जतिबेला हनुमानढोका रेखदेख समितिका प्रमुख हुनुहुन्थ्यो । त्यो बेला एक दिन पूर्व राजा तथा तात्कालीन अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाह र महारानी कोमल शाह पनि दरबार परिसर घुमफिर गर्दै हुनुहुन्थ्यो । दरबार अवलोकनका क्रममा शाहले सोधिहाल्नुभयो, “हनुमानजीको आँखा छोपेको ?” ताम्राकारले अप्ठेरो मान्दै भन्नुभयो, “हजुर अगाडि हेरिबक्स्यो त, त्यहाँ इरोटिक दृश्य छन् त्यो हेर्न हनुमानजीले हुन्न त्यसैले आँखा छापेको ।”

कामुकता कुँद्न लाज लाग्थ्योे

पेसाले नै कलाकार पुष्पलाल शिल्पकार । किशोरवयमै उहाँलाई कामुक कला कुँद्ने अनौठो अवसर जु¥यो । निर्जीव काठमार्फत अमुक संवेदना प्रवाह गर्नु कामुक कलाको बलियो प्रभाव हो । हतपती अन्य युवा कलाकारले त्यस्ता कला कुँद्न नै मान्दैन थिए । तर उहाँले आँट गरेर अग्रज हरिप्रसाद शिल्पकारको साथ लाग्नुभयो । अनि काष्ठकलामा कामुक बुट्टा भर्न थाल्नुभयो । कल्पनाशील होइन, पहिले नै कुँदेका मूर्ति वा काष्ठकलाको फोटो वा चित्र हेरेर मन्दिरका टुँडालमा कामुक कला कुँद्नु पथ्र्यो । उहाँ सम्झनुहुन्छ, “सुरु सुरुमा त बहुत लाज लाग्थ्यो, तर पछि रमाइलो लाग्दै गयो । बिहे भएपछिको अनुभवले यस्ता कुरा सिक्नु र जान्नुपर्ने रहेछ भन्ने पनि लाग्यो ।” 

नयाँ टुँडालमा भन्दा पनि बिग्रेका–भत्केका टुँडालमा उहाँले धेरै कामुक कला कुँद्नु भयो । तर साना टुँडालमा कामुक बुट्टा कुँद्दै गर्दा चुनौती धेरै खेप्नुभयो । मानवचित्र प्रस्ट देखिनु पथ्र्यो । कहिले नाक बनाउँदा आँखा चोइटिन्थ्यो । मुखको आकृति चोइटिएर खाल्डो बन्थ्यो । तर बिग्रनु र बनाउन उहाँलाई सामान्य लाग्थ्यो । उहाँ त्यो बेलाका अप्ठ्यारो सुनाउनुहुन्छ, “तर जोड्नै नमिल्ने ठाउँमा बनाइने महिला–पुरुषका यौन अङ्ग चोइटिएर झरेपछि हैरान हुन्थेँ । कहिलेकाहीँ फेरि अर्को बनाउनुपथ्र्यो ।” 

उहाँका अनुसार फूल बुट्टा बनाउँदाभन्दा कामुक मुद्राका बनाउन मेहनत ज्यादा लाग्छ । सालका अमूर्त काठमा दृश्यावलोकन गर्न सकिने गरी साना–आकृतिमा यौन आवेग र संवेगको मूर्त भाव भर्नु चानचुने कुरा होइन । त्यसमाथि अनेक आसनका भावभङ्गीमा फरक फरक हुन्छन् । मन्दिरमा यस्ता चित्रकला किन राख्नुप¥यो भन्ने कुरा धेरैपछि मात्र उहाँले बुझ्नुभयो । अचेल काठमाडौँ, पाटन, भक्तपुर कतै पनि नयाँ कालजयी मन्दिर बनेका छैनन् । त्यसैले मरिमेटेर कामुक कला कुँद्नु परेको छैन् । कलाकार हरिप्रसादसँग पछिल्लो समय २०७२ सालको भूकम्पले भत्किएको वसन्तपुरको काष्ठमण्डप र अरू मन्दिरको टुँडालको बुट्टा उहाँले बनाउनु भयो । आफू एक्लै जिम्मा लिएर कामुक कला बनाउने आँट अझै उहाँमा छैन । उहाँ भन्नुहुन्छ, “घरमा केटाकेटी ठूला हुँदैछन्, ‘ह्या बा के बनाएको यस्तो भन्छन्’, त्यसैले अर्डर आए पनि बनाउदिनँ ।” पाटनका टुँडाल भत्किएनन् । भित्ता मात्र भत्किए । अचेल पाटनका मन्दिरका भित्ता बलियो र सुन्दर बनाउने कार्नेश र झ्यालका टुँडाल बनाउन उहाँ व्यस्त हुनुहुन्छ । 

पुरुषको लिङ्ग र महिलाको योनीलाई शक्तिपीठका रूपमा कालान्तरदेखि पुजिँदै आएको छ । यो पूर्वीय अवधारणाले पश्चिमा समाजको मथिङ्गललाई सधैँ जसो झक्झकाउने गर्छ । पूर्वीय सभ्यताको धार्मिक दर्शनअनुसार शिव र शक्ति दुई यस्ता ऊर्जा हुन्, जुन विश्व सिर्जनामा सामेल मानिन्छन् । 

पूर्वको तुलनामा पश्चिमा समाज यौनको मामिलामा अलिक उदार मानिन्छ । त्यहाँ विवाहपूर्व र विवाहपछि दुवै स्थितिमा यौन सम्बन्धलाई वैध मानिन्छ । पूर्वीय सभ्यताले महिला पुरुषको सम्भोग सम्बन्धलाई धुमधामले विवाह गरेपछि मात्र औपचारिकता मान्छ । तथापि मन्दिरका टुँडालका कामुक कलाले पूर्वीय सभ्यताको गोप्य यौन मानसिकतालाई सदियौँअघि नै भङ्ग गरिसकेको छ । यसको ज्ञान मात्र आमजगत्लाई नभएको हो । लुकाउनुभन्दा पनि शिक्षाप्रद ढङ्गले समाज र नयाँ पुस्तालाई जानकारी दिनुपर्छ भन्ने मान्यता टुँडालका कामुक कलाले राखेको प्रस्ट देखिन्छ ।