जीवन गुनासो, समस्या र सङ्घर्षमै बितेजस्तै लाग्छ नब्बे प्रतिशत व्यक्तिलाई । सन्तहरू भन्छन्– दुःख र समस्या तिम्रो रोजाइ हो, सुख पनि सम्भव छ तर तिमीलाई दुःख रोज्दा आफ्ना तर्क राख्ने धेरै सामग्री पाउँछौँ, त्यसैले सुखभन्दा दुःख रोज्न सजिलो मान्छ व्यक्ति । एकातिर व्यक्तिको व्यक्तिगत जीवनमा अन्योल र भ्रम छ अर्कोतिर राज्य व्यवस्था र सामाजिक सुरक्षा अनि जीवनशैली यापनमा आउने कठिनाइले गर्दा सिस्टम नमिलेकोमा सबैको गुनासो रहन्छ । यो समस्या दशकौँदेखि थियो र आज समय धेरै अगाडि गइसक्दा पनि किन त्यही प्रकृतिको समस्या र अन्योल ? के सत्य ज्ञान र प्रबुद्ध विज्ञानको कला नभएर स्थिरता र सहजताको अवस्था नआएको हो त ? प्रश्न उठ्नु स्वाभाविक हो । भगवान् बुद्धको भूमिमा जन्म लिने अवसर पाएका हामी नेपालीले जीवनलाई मानिसको संस्कारअनुसार व्यवहार गर्न मात्र जाने पुग्छ । जताततै समस्या सिर्जना गर्ने र समस्याकै बखान गर्नुपर्ने यो नियतिलाई राज्यको नेतृत्व तहमा रहेकाले गलत व्यवस्थालाई सही व्यवस्थामा परिणत गर्ने, क्रोध र ईश्र्यालाई प्रेम र सद्भावमा, स्वार्थी पनलाई उदारतामा र झुटलाई सत्यतामा रूपान्तरण गर्न जाने प्रशासनिक झमेला होऊन् या व्यक्तिगत अन्योलता सबै समाप्त हुनेछन् । किनकि समस्या संस्कार होइन समस्या सिर्जना गर्ने र समस्यालाई नै बढाउँदै जाने दृष्टि र धारणाले समस्याबाट मुक्तिको उपाय खोज्न नजान्नु हो ।
राज्यले दिने सेवा र विकास प्रक्रियामा देखिएको अन्योल र अनियमितताको परिणामस्वरूप हरेक क्षेत्रमा निराशाको आवाज मात्र उठ्ने गरेको पाइन्छ ।
देशका कुनै पनि विकास योजना र सेवा प्रवाह नागरिकलाई केन्द्रमा राखेर बनाइने हो भने धेरै समस्या आउने थिएनन् । राज्यले दिने सेवा र विकास प्रक्रियामा देखिएको अन्योल र अनियमितताको परिणाम स्वरूप हरेक क्षेत्रमा निराशाको आवाज मात्र उठ्ने गरेको पाइन्छ । नेतृत्व तहले यी अव्यवस्थित संरचना र प्रणालीलाई कसरी व्यवस्थित गर्न सकिन्छ सोच्नेतिर नलागी विगतदेखिकै समस्या हुन् भनेर पन्छिनुको कारण हो दृष्टिमा नै सचेतना आएको छैन । समस्या भन्ने चिज नै स्थायी छैन यो सृष्टि भएको कुरा पनि होइन । काम गर्दै र प्रणाली बनाउँदै जाँदा अप्ठेरो आइपर्नु स्वाभाविक हो । यसलाई रूपान्तरणकारी उपाय खोज्नु विकासको माध्यम हो । नेतृत्व तहले आफ्नो कार्यकालमा परिवर्तन र सुधारलाई जोड नदिई सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्ने र आरोप प्रत्यारोपमा मात्र उत्रिने संस्कारले गर्दा समय र ऊर्जा दुवै खेर गइरहेको छ, नागरिकले सास्ती पाउन छोडेका छैनन् ।
समस्याबाट समाधानको कला
सृष्टि बदल्न दृष्टि बदलिनुपर्छ । हामीकहाँ समस्याका कारण र इतिहास मात्र खोजिरहने संस्कारले गर्दा समस्या समाधानमा रूपान्तरण हुन पाएको छैन । जसरी एउटा मनोविश्लेषकले बिरामी व्यक्तिको इलाजका लागि उसको बचपन, रोगका प्रकृति र जीवनकै इतिहास खोजेको हुन्छ ताकी ऊ मानसिक रूपमै सबै समस्या निकालेर फाल्न सकोस् र बाँकी स्वस्थ भएर बाँचोस् । त्यसैगरी नेतृत्व गर्नेले राज्यको सिस्टममा विगतका इतिहास र समस्या मात्रै खोतलेर बस्न थाल्यो भने हजारौँ समस्या निस्कन्छन् नै । विगतमा समस्या आएकै कारण, समयमा कम नभएकै कारण नागरिकले नयाँ नेतृत्व चुनेका हुन्छन् । नेतृत्व तह भने तिनै समस्यामा फेरि पछाडि जाने या उसको स्वयंको नेतृत्व कला पहिचान गरेर नयाँ विकासको थालनीमा जाने ? हरेक घटना र समस्याले पाठ त सिकायो होला ? सधैँ सिकायतमै समय बिताउने कि समस्या समाधानको उपाय खोज्ने ? विगतमा जे कमजोरी थिए तिनको कारण पहिचान गरी नतिजामुखी कार्यको थालनी नहुँदासम्म सरकारमा जाने विश्वासको मत जिते पनि नागरिकको मन जित्न सकिन्न ।
राजनीति गरेर जितेको विश्वास भन्दा हृदयबाट उदारताले मन जित्न सक्नु ठूलो उपलब्धि मान्छन् नागरिकले । जसरी व्यक्तिको जीवन वर्तमान समयलाई मानिन्छ जहाँ ऊ जीवित छ र कर्म गर्न सकिरहेको । राजनीतिक जीवन पनि त्यही वर्तमानलाई अवसरका रूपमा छोपेर आफ्नो नेतृत्व कला नागरिक हितमा देखाउन सक्नु हो । अन्यथा राजनीतिक जीवन पनि जन्म जन्म लिएर राज्यको समस्या समाधान तर्फ कुरेर बस्ने समय अवश्य नपुग्ला । आज आफ्नै स्वार्थका लागि मात्र धेरै कुरा प्राप्त गर्न खोजिरहँदा मानवता भने हराउँदै गएको अनुभूति गर्न सकिन्छ । केही खोज्दा र प्राप्त गर्दा कति कुरा आफ्नो हातबाट, आफ्नो साथबाट र आफ्नो हृदयबाट छुट्यो हेक्का भएन भने विगतका गल्तीलाई कसैले माफी दिन सक्छ तर बिर्सन गाह्रो हुन्छ । किनकि फरगिभ र फर्गेट फरक कुरा हुन् । त्यसैले बिर्सन गाह्रो हुने कर्म र व्यवहार होइन सधैँ सम्झन लायक कर्म गर्ने रोजाइ आफैँमा हुन सक्नुपर्छ ।
उत्तरदायित्व बहन गर्ने संस्कारको विकास
जति पनि समस्या र बेथिति महसुस हुन्छ त्यहाँ नेतृत्व तहको उत्तरदायित्व बहन गर्ने संस्कारको विकास नभएकाले भन्ने गरिन्छ । के छन्, त्यस्ता समस्या र उत्तरदायित्व बहन गर्नुपर्ने क्षेत्र सबैमा जगजाहेर छ । अर्थतन्त्रको मेरुदण्ड मानिने नेपालको कृषि क्षेत्र र सबैतिर खाली र बाँझो जग्गा रहेको ठाउँमा कृषि विकास रणनीति कसरी ल्याउने ? युवा समूह विदेश पलायन हुने क्रम जारी छ । गरिबी, खाद्यान्न अभाव र कुपोषणजस्ता समस्या यथावत् नै छन् । विकासमा कृषि विकासको प्राथमिकताले सोचेको नतिजा दिएको छैन । उत्पादन र उत्पादनशीलता घट्दै छ । प्रदूषणको कारण मानव स्वास्थ्यमा विकराल समस्या आउनेवाला छ । योजना, नीति, संरचना र वितरणमा एक आपसमा समन्वय नहुनाले नै विकासका योजनामा विरोधाभास आउने गरेको छ । विकास बजेटको १० प्रतिशत बजेट पनि विकासका काममा खर्च हुन नसकेको तथ्य प्रत्येक वर्ष यथार्थता बनेर आइरहेको छ ।
चुनावी घोषणापत्र र भाषणमा मात्र सीमित विकासलाई अब बृहत रूपमा समेटेर, समष्टिगत विकासमा ध्यान नपु¥याउने हो भने कस्तो समृद्धिको कल्पना गर्ने ? कसका लागि विकास ? कहाँ, कसले, कसरी अनुभव गर्ने जनता केन्द्रित विकासको ? अब होशपूर्ण र जागरुक हुने समय एकदम नजिक आइरहेको छ । सबैले राष्ट्र र जनताकै विकास भन्दै भाषण र योजना अनि किताबमा पड्किरहने हो भने बाधक तìव के हो त ? कमजोरी कसको कहाँ छ कसले खोज्ने ? वास्तविक दायित्व बोध कसको हो ? जनता लाचार हुन् सबै सहेर बस्ने या त नेतृत्व वर्गको मनोमानी र स्वार्थ हाबी भएको छ ? अब ग्रासरुट (जनताको) तहदेखि केन्द्रसम्म रचनात्मक छलफल र बहसको अभ्यास गरी, आमसहभागिता गराइएन भने किताबी योजनाले मात्र राष्ट्र उभो नलाग्ने प्रस्ट छ । अब पनि पुरानै परम्परागत ढाँचा र पुरानै ढर्रामा योजना बन्ने र सीमित दलगत प्रतिनिधि र टाठा–बाठा, उच्च तहका प्रशासक पदाधिकारी बसेर मात्र निर्णय गरिने अनि आन्दोलनकै आधारमा आफ्नो पक्षमा निर्णय पाउने प्रवृत्तिले स्वामित्व लिने कुरा मात्र होइन, कार्यान्वयनको जग झनै कमजोर र उत्तरदायित्वबिहीन नबन्ला भन्न सकिन्न । मानव संस्कार कानुन र नीतिभन्दा माथि हुन्छ त्यसैले नीति नियम र कानुनको चाङले माथि उठाउन नसकेको अवस्थामा पनि एक अर्काप्रतिको भरोसा र विश्वासले काम लिन सकिन्छ, अगाडि बढ्न सकिन्छ । प्रत्येक कर्म गर्नुअघि र स्वार्थी भाव आउनु अगाडि मेरो जीवनको उद्देश्य के हो र लक्ष्य के हो याद गर्नुपर्छ । जीवन जन्मदेखि आर्यघाटसम्मको यात्रा न हो । त्यो बीचमा धेरै कर्म गर्नु र जिम्मेवारी निभाउनु छ स्वयंका लागि, परिवारजन, समाज र राष्ट्रका लागि । लिनु थोरै छ दिनु धेरै छ, किनकि जसले धेरै दिन सक्छ अस्तित्वले उसकै झोलीमा धेरै प्रसाद हालिदिन्छ । यस्तो कर्म, व्यवहार र सम्बन्ध स्थापित गर्न सकियोस् कि मलामी जाँदा पनि बाध्यताले होइन प्रेमको अन्तिम बिदाइ दिन सबै लालयित बनून् ।