• १२ साउन २०८१, शनिबार

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गर्नुहुँदै जापानी संसदका सदस्य मासाकी जैरा । तस्बिर : एकीकृत समाजवादी पार्टी सचिवालय

काठमाडौं, पुस २८ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानी संसद्को प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। जापानी संसद्का सदस्य मासाकी जैरासँग मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट भएको हो। 

भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयलगायतका विषयमा जापान सरकारको सहयोगका विषयमा छलफल भएको हो।

जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दलको बीचका अन्तरसम्बन्धका बारेमा छलफल भयो। भेटघाटका क्रममा आर्थिक लगानीका विषयमा जापानका प्राथमिकतासम्बन्धी सुझावको आदान प्रदान भएको एकीकृत समाजवादी केन्द्रीय कार्यालयले जनाएको छ। 

जापानमा नेपाली श्रमिकको भूमिका, श्रमका क्षेत्रमा नेपालको योगदानका विषयमा जापानको तर्फबाट सकारात्मक धारणा व्यक्त भएको छ। नेता नेपालले नेपालको विकासका लागि जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी रबार सङ्ग्रहालयको विकास, प्रवर्द्धन तथा संरक्षणका निम्ति जापानको भूमिका सह्रानीय रहेको र आगामी दिनमा यस्तै भूमिकाको अपेक्षाबारे चर्चा गर्नुभयो।