गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २७ गते । दादुरा रोगको महामारी भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । दादुराविरुद्धको खोप नलगाएकोले महामारी फैलिएको भन्दै खोप शाखा प्रमुख सागर दाहालले दादुराबाट बचाउन नौदेखि १५ महिना सम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने भएकाले आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन अभियान थाल्नुपर्ने केन्द्रका निर्देशक सुनीलराज शर्माले बताउनुभयो । कारणवश खोपको मात्रा लगाउन छुटेमा २४ महिनाभित्र दुवै खोपको मात्रा पूरा गराउन सकिने उहाँको भनाइ छ ।
मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगञ्ज उपमहानगरपालिकामा महामारीको रूप लिएको छ । उक्त उपमहानगरपालिकामा ९० जनालाई दादुरा पुष्टि भइसकेको छ भने एक जनाको मृत्यु भएको छ । सरकारले दादुरा महामारी फैलिएका स्थानमा दादुरा रुबेलाविरुद्धको खोप अभियान पनि सञ्चालन गरेको छ । नेपालगञ्जमा धार्मिक र सांस्कृतिक कारणले गर्दा खोप नलगाएका बालबालिकामा दादुराले महामारीको रूप लिएको छ । त्यहाँ मुस्लिम धर्ममा आस्था राख्ने बालबालिकाले खोप लगाएका थिएनन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामबहादुर चन्दले दादुरा फैलिएको स्थानमा खोप अभियान सुरु गरिएको जानकारी दिँदै तीन हजार बालबालिकालाई खोप लगाइसकेको बताउनुभयो । चन्दका अनुसार वडा नं. १, ५, ७, ८, ९, १०, ११, १४, १५, २२ तथा खजुराको वडा नम्बर २ मा समेत दादुराको महामारी फैलिएको छ ।