• १२ साउन २०८१, शनिबार

जाँदाजाँदै मन्त्री सोडारीले भन्नुभयो,‘कार्यकुशलताले भ्याएसम्म काम गरेँ’

blog

भौतिक मन्त्रालयको प्रगति विवरण प्रस्तुत गर्नुहुँदै मन्त्री दीर्घबहादुर सोडारी। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस २६ गते। सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षको अवधिमा प्रदेशमा ७६९ किलोमिटर सडक कालोपत्रे गरेको छ।  

भौतिक पूर्वाधार विकास मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो। आफू आउनुभन्दा अगाडि चार सय र आफ्नो पालामा ३६९ किलोमिटर सडक कालोपत्रे भएको भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले बताउनुभयो। 

यसैगरी, प्रदेश गौरवका नौ वटा सडक कालोपत्रे तथा स्तरोन्नति गर्ने कार्य भएको जनाइएको छ। प्रदेशभरी दुई हजार ३१४.५० किलोमिटर ग्राभेल तथा कच्ची सडक निर्माणको कार्य भएको मन्त्रालयले जनाएको छ। 

यस्तै, आफ्नो पालामा ६६ वटा सडक तथा पुलको बहुवर्षीय ठेक्का स्वीकृत, धनगढीको क्याम्पस रोडदेखि कैलाली पुलसम्म सडक कालोपत्रे गर्न ठेक्का आह्वानको कार्य भएको मन्त्री सोडारीले बताउनुभयो।   

उहाँले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ६४.७० किलोमिटर तटबन्धन निर्माण भएको जानकारी दिनुभयो। यसअघि, १५७ किलोमिटर तटबन्ध प्रदेश सरकारले बनाएको थियो। यसैगरी, पाँच वर्षमा प्रदेश सरकारले २० हजार ४३७ हेक्टर जमिनमा सिँचाइ सुविधाको व्यवस्था गरेको छ। आफ्नो पालामामात्रै सात हजार ४९३ हेक्टर जमिनमा सिँचाइ सुविधा भएको मन्त्री सोडारीले बताउनुभयो। 

यस्तै, पाँच वर्षमा दुई लाख ८६ हजार ३८३ जनसङ्ख्यालाई स्वच्छ खानेपानीको सुविधा प्रदान गर्ने कार्य भएको मन्त्रालयले जनाएको छ। १६९ वटा सामुदायिक भवन निर्माण गरिएका छन्। मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत तीन हजार ८८४ जनता आवास निर्माण भएको जनाइएको छ। आफ्नो पालामामात्रै ८८८ वटा जनता आवास निर्माण भएको मन्त्री सोडारीले बताउनुभयो। 

यसैगरी, पाँच वर्षमा ४२ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ। आफ्नो पालामा ११ वटा झोलुङ्गे पुल बनेको मन्त्रीले बताउनुभयो। त्यस्तै, मन्त्री सोडारीको पालामा पाँचसहित २७ वटा पक्की पुल निर्माण भएको मन्त्रालयले जानकारी दिएको छ। चार वटा यातायात कार्यालयको सुधार भइ तीन अर्ब ९० करोड ६७ लाख रुपियाँ राजस्व सङ्कलन भएको पत्रकार सम्मेलनमा जनाइएको छ। 

त्यस्तै, एक हजार ८०३ वटा डिप ट्युवबेल निर्माणको कार्य भएको मन्त्रालयले जानकारी दिएको छ। समग्र प्रदेशको सिँचाइ गुरुयोजना तयार पारिएको, कैलाली, कञ्चनपुरमा रहेका काँढा, कान्द्रा र चौधर लगायत अन्य नदी नियन्त्रण तथा व्यवस्थापन गुरुयोजना निर्माण गरिएको जनाइएको छ। 

जाँदाजाँदै मन्त्री सोडारीले मन्त्रीमा बहाल रहँदासम्म आफ्नो कार्यकुशलताले भ्याएसम्म काम गरेको बताउनुभयो। विगतमा राज्यबाट उपेक्षित सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार गठन भएयता अर्बौका ठूलठूला आयोजना सुरु हुनुका साथै सम्पन्न पनि भएको मन्त्रीको भनाइ थियो। उहाँले २०७८ जेठ १४ गते भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो।