• ६ जेठ २०८१, आइतबार

एउटै नगरपालिकाबाट गण्डकी प्रदेशमा दुई मन्त्री

blog

अर्जुन काफ्ले 

स्याङ्जा, पुस २६ गते । पुतलीबजार नगरपालिकाबाट गण्डकी प्रदेश सरकारमा दुई मन्त्री बन्नुभएको छ । एक मुख्यमन्त्रीसहित चार जनाको मन्त्रिमण्डल गठन हुँदा स्याङ्जाको एकै नगरपालिकाका दुई मन्त्री बन्नुभएको हो । 

पुतलीबजार वडा नं १ की नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य सीताकुमारी सुन्दास र वडा नं ५ का राप्रपाको गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ विना विभागीय मन्त्री बन्नुभएको हो । 

सुन्दास र गुरुङले मन्त्री भएसँगै सोमबार राति प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पद तथा गोपनीयताको शपथ खानुभएको थियो । 

ठुलाडिहीमा जन्मनुभएकी सुन्दास सानै उमेरमा आमाको प्रेरणामा विद्यार्थी राजनीतिमा होमिनुभएको थियो । 

विद्यार्थी, महिला सङ्घ, जनसांस्कृतिक मञ्च, जातीय मुक्ति समाज, पार्टी तल्लो तह हुँदै एमालेको नवाैं र दशाैं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको थियो । 

वि.सं. २०७४ सालमा जिल्ला समन्वय समितिको पहिलो महिला प्रमुख भएकी सुन्दास गत मङ्सिर ४ गते निर्वाचनमा क्षेत्र नं १ (क) बाट जनयुद्धकी कमाण्डर अमृता थापामगरलाई पराजित गर्दै प्रदेश सांसद बन्नुभएको थियो । 

सुन्दासले एक हजार ४२४ मतले थापामगरलाई पराजित गर्दै देशकै एक मात्र दलित महिला निर्वाचित हुनुभएको थियो । 

आमाको प्रेरणा र सहयोगमा राजनीतिमा होमिएको स्मरण गर्दै सुन्दासले आमाको छोरी मन्त्री बनाउने सपना पूरा भए पनि हेर्न नपाएकोमा दुःख व्यक्त गर्नुभयो । मन्त्री सुन्दासकी आमा चित्रकुमारी सुन्दासको मङ्सिर ४ गते निर्वाचनको दिनमा ९० वर्षको उमेरमा निधन भएको थियो । 

यस्तै,  विद्यार्थीमा कम्युनिष्ट राजनीतिमा हुर्किनुभएका मन्त्री पञ्चराम गुरुङ वैदेशिक रोजगारीबाट फर्केसँगै राप्रपाको राजनीतिमा लाग्नुभएको थियो । 

१९ वर्ष वैदेशिक रोजगारीमा रहनुभएका गुरुङ दश वर्ष पहिला राप्रपामा तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको प्रेरणामा राजनीतिमा सक्रिय हुनुभएको थियो । 

एक वर्ष पहिला गण्डकी प्रदेश अध्यक्ष बन्नुभएका गुरुङ राप्रपाबाट समानुपातिक सांसद हुँदै मन्त्री बन्नुभएको हो । 

कुनै समय बुबा टोपबहादुर गुरुङ एमालेबाट वडा अध्यक्ष भएको र बाबासँगै राजनीति सिकेको मन्त्री गुरुङको भनाइ थियो ।