• १३ साउन २०८१, आइतबार

श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

blog

शान्ता अधिकारी 

चितवन, पुस २६ गते । श्रीमान र श्रीमती दुबै घरमा मृत अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान गर्न चितवनका प्रहरी प्रमुख नवराज अधिकारीसहितको टोली भरतपुर २९ कविलास पुगेको छ । 

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले दिनुभएको जानकारी अनुसार मङ्गलबार बिहान अन्दाजी ७ः३० बजेको समयमा भरतपुर २९ लमजुङगे टोल भन्ने स्थानमा श्रीमान र श्रीमती दुबै जना मृत अवस्थामा भेटिएको जानकारी पाउनासाथ प्रहरी चौकी जुगेडीबाट प्रहरी सहायक निरीक्षक विष्णु मोक्तानको टोली उक्त स्थानतर्फ पठाइएको थियो । प्रनानिको कमाण्डको टोली पुग्दा नपुग्दै प्रहरी उपरीक्षक अधिकारीसमेत उक्त स्थानमा पुग्नुभएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले यतिबेला घटनास्थल एवं शव जाँच गरी मुचुल्का तयार गर्नेलगायतको प्रारम्भिक अनुसन्धान कार्य गरिरहेको बुझिएको छ । घटनास्थलको प्रकृति हेर्दा २२ वर्षका श्रीमान् प्रेम रानामगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा र वर्ष २१ की शान्ति भन्ने बुद्धिमाया रानामगर घर बाहिर आँगनमा रहेको अगेनाको छेउमा मृत अवस्थामा भेटिएका हुन् ।

मृतक महिलाको टाउकोमा चोट देखिएको प्रहरीको घटना मुचुल्कामा उल्लेख छ ।