लीला गिरी मुख्यमन्त्री बन्दै
छविलाल पाण्डे
बुटवल, पुस २६ गते । सत्ता साझेदार दलहरूले लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि आज बहुमतसहितको दाबी पेस गर्ने भएका छन् ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूले लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गर्ने तयारी गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि बुधवारसम्मको समयसीमा दिनुभएको थियो तर उक्त समय सीमाभन्दा एक दिन अगाडि नै दलहरूले दाबी पेस गर्न लागेको नेकपा एमालेका नवनिर्वाचित प्रदेश सभा सांसद भूमिश्वर ढकालले बताउनुभयो ।
ढकालका अनुसार सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता लीला गिरीसहित सत्ता पक्षीय गठबन्धनका नेताहरूको बैठकले मङ्गलवार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले आजै साँझसम्ममा लुम्बिनीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता एवं पूर्व मन्त्री लीला गिरीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने सम्भावना छ ।
सोमबारको बैठकमा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा र जनमतका नेताहरूको उपस्थिति रहेको बैठकमा सहभागी एमाले सांसद ढकालले जानकारी दिनुभयो । उहाँले मङ्गलवार कम्तीमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गरिने बताउनुभयो ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३–३ सिट छन् । नागरिक उन्मुक्तिसँग ४ सिट र स्वतन्त्र २ जना सांसद छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।