गोपी ज्ञवाली
नवलपरासी, पुस २६ गते । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पर्याप्त खानेपानी पु¥याउनका लागि ४८ करोड रुपियाँको लागतमा नयाँ खानेपानी आयोजनाको निर्माण कार्य सुरु भएको छ।
सङ्घीय सरकारको लगानीमा सुनवल नगरपालिका–१, २, ३, ४, ५, ६ र १० का उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ नयाँ खानेपानी आयोजनाको निर्माण कार्य सुरु गरिएको सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष खड्ग बस्नेतले बताउनुभयो। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलको प्रत्यक्ष निर्देशनमा सुनवलमा ४८ करोड ६६ लाख ४१ हजार ६८२ रुपियाँको लागतमा नयाँ खानेपानी आयोजना बन्न लागेको सो आयोजनाका इन्जिनियर उत्सव पोखरेलले बताउनुभयो।
२०६५ सालमा स्थापना भएको सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले अहिले वडा नं. १ देखि ६ सम्म खानेपानी पु¥याएको भए पनि हालको आयोजना कम क्षमता भएकाले सुनवल नगरपालिकाको बढ्दो जनघनत्वलाई सेवा दिने योजनाका साथ अघि बढाइएको संस्थाका अध्यक्ष बस्नेतले स्पष्ट पार्नुभयो। हालसम्म सुनवल खानेपानी संस्थाले ३२ हजार जनसङ्ख्यालाई पानी वितरण गरेको छ। अब बन्ने नयाँ आयोजनाले वडा नं. ७, ८ र ९ वडाबाहेकका १ देखि १० सम्मका सबै वडामा खानेपानी वितरण गर्ने योजना रहेको बताइएको छ। नयाँ बन्ने आयोजनाले सुनवलका ४५ हजारभन्दा बढी जनसङ्ख्याले शुद्ध पानी पिउन पाउने छन्।
स्थानीय खानेपानी संस्थाले १० प्रतिशत र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले ९० प्रतिशत रकमको साझेदारी लगानीमा बन्न लागेको यो आयोजना २०८१ सालको असार मसान्तसम्म निर्माण सम्पन्न हुनेछ। नयाँ निर्माण हुने आयोजनाका लागि सुनवल–४, बनाहामा दुई र वर्गदहीमा एउटा गरी जम्मा तीनवटा ट्युबवेलबाट आएको पानीलाई दुईवटा ट्याङ्कीबाट वितरण गरिनेछ।