दोलखा समाचारदाता
दोलखा, पुस २६ गते । दोलखामा स्थापना भएको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना (जिक्याप) क्षेत्रभित्र सञ्चालित होमस्टे कोरोना महामारी हटेपछि पुनः सञ्चालन हुन थालेका छन्।
कोरोना माहामारीका कारण ठप्प हुन पुगेका जिक्याप क्षेत्रभित्र दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा समेत सञ्चालनमा रहेका ८२ वटा होमस्टे पुनः सञ्चालन हुन थालेको आयोजनाले जनाएको छ।
कोरोना भाइरस सङ्क्रमणको पहिलो र दोस्रो लहर सुरु भएपछि जिक्याप क्षेत्रभित्र विभिन्न स्थानमा सञ्चालन भएका होमस्टे बन्द हुने अवस्थामा पुगेका थिए। आयोजनाका सूचना अधिकारी तुलसी दाहालले भन्नुभयो, “कोरोनाको प्रभाव हटेपछि पर्यटक आगमन बढेसँगै होमस्टे सञ्चालन भएका हुन्।”
स्थानीयले सञ्चालनमा ल्याएको होमस्टेका लागि जिक्यापले पनि आवश्यक सामग्री सहयोग गरेको थियो। जिक्यापअन्तर्गत दोलखाको जिरी नगरपालिकाको श्यामामा पाँच, गौरीशङ्कर गाउँपालिकाको चङ्खु, मार्बु र सुरीमा २८, बिगु गाउँपालिकाको लामाबगर, आलम्पु, बिगु र गोँगरडाँडामा गरी २२ वटा तथा कालिञ्चोक गाउँपालिकामा तीनवटा होमस्टे सञ्चालनमा छन्।
रामेछापको गोकुलगङ्गा गाउँपालिकाको चुचुरेमा १० र उमाकुण्ड गाउँपालिकाको गुम्देलमा पाँच तथा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तीमा पाँच र तातोपानीको दुगुना गढीको १० घर गरी १५ घरमा होमस्टे सञ्चालन छन्।
ग्रामीण पर्यटन विकास कार्यक्रमलाई जोड दिँदै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र बढीभन्दा बढी पर्यटक भिœयाउने उद्देश्यले होमस्टे सञ्चालनका लागि स्थानीयवासीलाई सहयोग गरेको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संरक्षण क्षेत्रका विभिन्न स्थानमा २०६९ सालदेखि होमस्टे सञ्चालन सुरु गरिएको थियो। त्यसपछि बिस्तारै थप विस्तार हुँदै गएको हो।
२०६९ सालदेखि यी क्षेत्रमा होमस्टे सञ्चालनमा आए पनि नेपालमा कोरोना महामारी फैलिएपछि खास प्रभावकारी हुन नसकेको जानकारी दिँदै सूचना अधिकारी दाहालले भन्नुभयो, “अहिले गौरीशङ्कर संरक्षण क्षेत्र अवलोकन गर्न आउने पर्यटकका लागि होमस्टे पुनः सुचारु गरिएको हो। होमस्टे खुलेपछि हाल आन्तरिक तथा केही बाह्य पर्यटक आउन थालेका छन्।”