धर्बेन्द्र झा
धनुषा, पुस २५ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान प्रदेशसभाका सभामुख सरोजकुमार यादव निर्वाचित हुनुभएको छ । जसपा संसदीय दलको नेताका लागि सोमबार भएको निर्वाचनबाट यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दिनुभएको थियो । निर्वाचन समितिले दिउँसो ३.३० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेगरी निर्वाचन कार्यतालिका बनाएको थियो ।
उम्मेदवारीपछि दुवै जनाबीच सहमति भएपश्चात् मुख्यमन्त्री लालबाबु राउतले समयमै उम्मेदवारी फिर्ता लिएपछि यादवलाई संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित हुने बाटो खुलेको निर्वाचन समितिका संयोजक लालकिशोर साहले बताउनुभयो । मधेश प्रदेशमा तेस्रो ठूलो दलको रूपमा रहेको जसपाको नेतृत्वमा सरकार गठन हुने सम्भावना छ ।