गोरखापत्र अनलाइन
काठमाडौं, पुस २५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले सत्ता साझेदार दलबाट तयार गरी स्वीकृत भएको साझा न्यूनतम साझा कार्यक्रम सरकारले कार्यान्वयन गरी देशलाई अग्रगमन तथा समृद्धिमा लग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा सोमबार यहाँ आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सो विश्वास व्यक्त गर्नुभएको हो । सो अवसरमा संयोजक ओलीले साझा न्यूनतम कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गर्नुभयो । नीतिगत प्राथमिकता र कार्यान्वयिक कार्यक्रम साझा न्यूनतम कार्यक्रम भएको उहाँले चर्चा गर्नुभयो । सत्ता साझेदार दलको तर्फबाट सरकारका लागि तयार गरिएको साझा दस्ताबेज भएको उहाँले बताउनुभयो ।
सत्ता साझेदार दलहरूले स्वीकृत गरेको साझा दस्ताबेज भएकाले त्यसको कार्यान्वयनमा प्राथमिकता दिएर अघि बढ्ने उहाँले बताउनुभयो । सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, सबै क्षेत्रमा तिथि बसाल्ने, जनताका अपेक्षाअनुसार काम गर्नेगरी साझा कार्यक्रम तयार गरिएको उहाँको भनाइ छ ।
“जनताको आशा, भरोसा र अपेक्षालाई समेत ध्यानमा राखेर यो सरकार गठन भएको हो र त्यहीअनुरूप सरकारको न्यूनतम साझा कार्यक्रम तय गरेको छ” अध्यक्ष ओलीले भन्नुभयो, “मुलुकलाई निकास दिन, जनताको अपेक्षा पूरा गर्न, मुलुकलाई समृद्ध बनाउन राजनीतिक संयन्त्रले भूमिका खेल्ने छ ।”
प्रधानमन्त्री प्रचण्डले भोलि मंगलबार सङ्घीय संसदबाट विश्वासको मत लिनुहुने र सो लगत्तै मन्त्रिपरिषद् विस्तार हुने उहाँले जानकारी दिनुभयो । सरकारले पूर्णता पाएपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनको चरणमा जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । “यो हल्लैहल्लाको देश हो, हल्ला बेसरी चल्छ तर यो सरकार ढल्छ भनेर नसोच्नुहोला । धेरै खेलाडीहरू खेल खेले पनि यो सरकार ढल्दैन । यो सरकार स्थायित्वका लागि बनाइएको सरकार हो ।”
यो सरकार स्थिर र प्रभावकारी रूपमा अघि बढ्छ अध्यक्ष ओलीले भन्नुभयो । कुनै प्रकारको हल्लाको पछाडि नलाग्न उहाँले आग्रह गर्नुभयो । “यो सरकार पर्मानेन्ट र इफेक्टिव सरकार हो, त्यहीअनुरूप काम गर्छ” उहाँले भन्नुभयो । सत्ता साझेदार दलमध्ये सबैभन्दा ठूलो दलको हैसियतले एमालेको सम्पूर्ण रूपमा साथ, सहयोग र समर्थन सरकारलाई रहको उहाँले बताउनुभयो । “यो टेम्पोररी एरेन्जमेन्टका लागि होइन, परमानेन्ट सेटलमेन्टका लागि बनेको सरकार हो” उहाँले भन्नुभयो ।
विश्वासको मतमा करिब सबै दलले सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँले नेपाली कांग्रेसलाई पनि विश्वासको मतमा साथ दिन आग्रह गर्नुभयो । आधारभूत रूपमा हामी सँगै अगाडि बढ्ने वातावरण बनेको छ, अझ थप वातावरण बनाउँदै अघि बढ्छौँ उहाँले भन्नुभयो । यो सरकार नेपाली जनताले चुनेर बनाएको संसद्को अभिमतबाट बनेको सरकार हो, त्यसैले यसप्रति कुनै आशङ्काको दृष्टिकोण राख्न जरुरी छैन अध्यक्ष ओलीले भन्नुभयो, “यो सरकारले अत्यन्त जिम्मेवारीका साथ, छिमेक सम्बन्ध, परराष्ट्र सम्बन्ध सन्तुलित ढङ्गले अगाडि बढाउँछ, सबैसँग मित्रता गरी अगाडि बढ्छ ।”
सबैसँगको सम्बन्ध अझ सुदृढ र उच्चस्तरमा लग्ने अध्यक्ष ओलीले बताउनुभयो । साझा न्यूनतम कार्यक्रमको नीति र स्पिरिट पनि त्यही भएको उहाँको भनाइ छ । विकास साझेदार देश तथा संस्थालाई सकारात्मक रूपले सहयोग गर्न र सहयोगको हात बढाउन उहाँले आग्रह गर्नुभयो । यो सरकार संसदीय बनावटको सुविचारित ढङ्गले बनेको सरकार हो, जनताको ठूलो अभिमतको प्रतिनिधित्व यो सरकारसँग छ, त्यसैगरी काम गर्छ भन्ने विश्वास मैले लिएको छु, जनताले पनि त्यही रूपमा विश्वास गर्नुभएको छ” उहाँले भन्नुभयो ।