काठमाडौँ, पुस २५ गते । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ ।
आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु. २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु. आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु. सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा रु. १६ हजार एक सय ४० कायम भएको छ ।
काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा रु. छ सय ८५ भाडा घटेर अधिकतम रु. १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ–सिमरामा रु. एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाडौँ–भद्रपुरमा रु. छ सय, काठमाडौँ–विराटनगरमा रु. चार सय ८५, काठमाडौँ–जनकपुरमा रु. दुई सय ६०, काठमाडौँ–भरतपुरमा रु. दुई सय १५ र काठमाडौँ–पोखरामा रु. तीन सय २० भाडा घटेको छ ।