• १६ भदौ २०८१, आइतबार

पुलिसको लगातार दोस्रो जित

blog

क्लब भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं, पुस २५ गते । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं एनभिए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३-० को सेटमा हरायो ।

पुलिसले २५–१४, २५-९, २५-६ को सहज जित निकालेको हो । जितसँगै समूह ‘ए’ मा रहेको पुलिसले ६ अंक बनाएको छ । पुलिसले पहिलो खेलमा नयाँ बजार युवा क्लबलाई हराएको थियो ।

महिलातर्फ नै सोमबार भएको अर्को खेलमा साविक विजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लबले नयाँ बजार युवा क्लबलाई ३–० को सोझो सेटमा हराएको छ । न्यु डायमन्डले २५-२, २५-८, २५-६ को सहज जित निकालेको हो । पहिलो जितसँगै समूह ‘ए’ मा रहेको न्यु डायमन्डले तीन अङ्क बनाएको छ । 

च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ आठ टोलीको सहभागिता छ । पुरुष र महिला दुवैतर्फका विजेताले चार लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार र विधागततर्फ उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल भलिबल सङ्घले जनाएको छ ।