• ११ मंसिर २०८१, मङ्गलबार

निजगढ विमानस्थलमा सरकारको चासो

blog

पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा निर्माण सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै अब ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’को निर्माण छिटै अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्रीको सो उद्घोषले चौतर्फी स्वागत पाइरहेको छ । प्रधानमन्त्रीको सो घोषणाले राष्ट्रिय गौरवको आयोजना ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ सर्वाधिक चर्चा र चासोको विषय बनिरहेको छ ।

सर्वोच्च अदालतको पछिल्लो पूर्ण फैसलाले पनि निजगढ विमानस्थल निर्माणको कामलाई रोक्न भनेको छैन । अदालतले अधिकतम रूपमा वन विनाश रोक्ने गरी केही वरपर आयोजना निर्माणका लागि बाटो खोलिसकेको छ । अहिले खासगरी आयोजना बन्नुपर्छ, देशको चौतर्फी हितमा विमानस्थल छ, समृद्धिको हिसाबले आयोजना अझ महत्वपूर्ण छ भन्ने कुरामा सबै राजनीतिक दल करिब एकमत छन् । आयोजनास्थलका बासिन्दाले पनि आयोजना अघि बढाइनुपर्ने माग गर्दै दबाब दिएका छन् ।

विकासप्रेमी नेपाली निजगढ विमानस्थल रोकिनु हुँदैन र यसको निर्माणको क्रममा कतिपय समस्याको समाधान खोज्दै त्यसलाई अघि बढाउनुपर्छ भन्नेमा एकमत छन् । भलै आयोजना प्रभावित क्षेत्र टाङ्गिया बस्तीका जनता आफ्ना माग पनि पूरा होऊन् भन्ने चाहना राख्छन् । यसरी आमजनता काठमाडौँ–निजगढ फास्ट–ट्र्याकको जुम्ल्याहा यस 

आयोजना कुनै पनि हालतमा बनाइनुपर्छ भन्ने मान्यता राख्छन् । सो सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पोखरा विमानस्थल उद्घाटनका क्रममा निजगढ विमानस्थल निर्माण गरिने कुरालाई उद्घोष गरिनुले ठूलो आशा जगाएको छ । 

हालसम्म निजगढ विमानस्थलका लागि सरकारले नौ वर्षमा नौ अर्ब रुपियाँ बजेट विनियोजन गरिसकेको छ । बजेट विनियोजन गर्न थालिएको गत नौ वर्षबीच दुई अर्ब १५ करोड निकासा भएको र एक अर्ब ११ करोड त खर्च नै भइसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सरकारले यसबीच निजगढ विमानस्थल निर्माणस्थलको ११० बिघामध्ये ७० बिघा जमिनको त मुआब्जा नै वितरण गरेर जग्गा विमानस्थलको अस्तित्वमा आइसकेको छ । झन्डै ४० बिघा जग्गाको मुआब्जा दिन बाँकी रहे पनि ती कामसमेत धेरै अघि बढेका छन् । फेरि निजगढ विमानस्थल धेरै हिसाबले अरू विमानस्थलभन्दा बढी महत्वपूर्णसमेत देखिन्छ ।

वातावरणको पक्षमा वकालत गर्नेहरूले वातावरण विनाशको मुद्दा बनाएका छन् तर वातावरणविद्ले के बुझ्न जरुरी छ भने नेपालमा ४२ प्रतिशत जमिन जङ्गलले ढाकिएको छ । मुलुक विश्वकै भूपरिवेष्टित र अप्ठेरो भूगोलमा अवस्थित छ । हामीले विश्वलाई नै चिसो हावा बाँड्न सक्ने अग्ला हिमाल, अग्ला–अग्ला महाभारत पर्वत र तराईका घना जङ्गलहरू जोगाएका छौँ । त्यसमा हामी गर्व गर्छौं तर वातावरण संरक्षण र ग्लोबल वार्मिङको भय छर्ने विश्वका पुँजीवादी मुलुकले के हामीले वातावरण जोगाएबापत क्षतिपूर्ति दिएका छन् त ? 

कतिपय नमिलेका विषय मिलाउन सकिन्छ । जमिन अधिक छन् । रुख रोप्न सकिन्छ । निजगढबासी हरेकका घरआँगनमा थप दुई थान रुख रोप्नु भन्न सकिन्छ । निजगढबासी रुख रोप्ने अभियान नै चलाउन तयार देखिन्छन् । त्यसरी कटान गर्नुपर्ने रुखको क्षतिपूर्ति तिर्न तयार छन् तर नबनाओ, काम रोक भन्नु भयङ्कर अन्यायपूर्ण छ । तर्कशास्त्रका हिमायतीले बजारमा यस आयोजना बनाइनु ठीक पनि हो र ठीक पनि होइन भन्या जसरी हिजोआज पनि हल्ला मच्चाइरहेका छन् । वातावरणको नाममा होहल्ला मच्चाउनेहरू त यस आयोजनाविरुद्ध हात धोएर लागेका छन् । 

तर यत्ति हो यस आयोजना बनाइनु हुन्छ वा हुँदैन भन्ने कुरा त अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक हो वा होइन भन्ने कुरामै निर्भर छ । २५ वर्षदेखि निजगढ नै उपयुक्त ठाउँ हो, बनाइनुपर्छ, आवश्यक छ भन्ने हरेक अध्ययनले पनि निजगढलाई उपयुक्त स्थलका रूपमा प्रस्तुत गर्ने तर अहिले आएर कुतर्क गर्नु जायज होला त ? किनकी निजगढ विमानस्थल बनाउने भनिएको स्थान प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले उपयुक्त ठाउँका रूपमा धेरै वर्षअघि नै तोकेको स्थान हो । दुई दशक अघि नै । आज दुई दशकभन्दा अघिदेखि बनाउने भनेर जनतालाई सपना देखाइएको, नौ वर्षदेखि निरन्तर बजेट विनियोजन गरिएको तथा मुआब्जा वितरणसमेतको काम करिब सकिन लागेको र राज्यले झन्डै दुई अर्ब खर्च गरिएको आयोजनमा नबनाइनु भनेको घोर अन्याय हुन्छ । त्यसकारण प्रधानमन्त्री प्रचण्डले जसरी गौरवपूर्ण उद्घोष गर्नुभयो त्यसरी नै विमानस्थलको कार्य अघि बढाउन जरुरी छ । खासगरी निर्माणाधीन काठमाडौँ–निजगढ फास्ट ट्र्याकको पूरक आयोजनाका रूपमा लिइएको निजगढ स्थानको हिसाबले पनि सबैलाई मान्य छ । 

निजगढले तराईलाई जोड्ने र पहाड तथा तराईको समृद्धिलाई मिलाउने कारण पनि धेरैले उत्साह देखाएका छन् । खासगरी तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी नेतृत्वले तयार पारेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा जम्मा सात लाख रुख काटिने कुरा छन् । त्यो प्रतिवेदन आउनासाथ वातावरणको मुद्दा ओरालिएका हुन् । नेपालको ४२ प्रतिशत भूमि वन जङ्गलले ढाकेको छ । दुई–चार लाख रुख काटेर निजगढ विमानस्थल बनाउँदा आकाश खस्दैन । 

नेपाल यसै पनि वनजङ्गल र खोलानालाको धनी देश हो । यहाँ वन, जङ्गल, भीर, ठूला पहाड र हिमालबाहेक अरू के नै छ र ? के वनजङ्गल, पहाड, हिमाल नेपालीले मात्रै जोगाइराख्ने हो ? अरूले विकास गर्दा नेपालले गर्नुपर्दैन ? 

वातावरणकै हिसाबले पनि तराईमा अवस्थित निजगढ, त्यहाँको बलियो माटो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अत्यन्त हितकर छ । विकासले जनसङ्ख्याको ठूलो हिस्सालाई समेट्नुपर्छ भनिन्छ । निजगढमा बन्ने विमानस्थलले मुलुककै ठूला सहर वीरगञ्ज, विराटनगर, जनकपुर, हेटौँडालगायतलाई जोड्छ । त्यहाँका लाखौँलाख मानिसलाई सुविधा दिन्छ ।

भारतसँग हुने ठूलो व्यापार ट्रान्जिट वीरगञ्जको सामीप्यमा रहेको निजगढमा बन्ने विमानस्थल र फास्ट ट्र्याकले राज्यको अर्बांै ढुवानी लागत कम गर्छ । त्यसकारण २४ लाख हुँदै होइन, दुई–पाँच लाख रुख काट्नुपर्ने कुरालाई लिएर सबै दृष्टिकोणले उपयुक्त, सर्भेहरूले पनि उपयुक्त ठह¥याएको ठाउँको विकासलाई विरोध गर्नु जायज हुँदैन । फेरि दुई–पाँच लाख रुख कटान गरी त्यसको बिक्री गर्दा आउने ठूलो धनराशिबाट विमानस्थल निर्माणका लागि टेवा पुग्न सक्छ । 

खासगरी नेपालमा जति पनि आयोजना बनेका छन् । हालसम्म ती आयोजना निर्माणपूर्वको अध्ययनमा कसैले पनि वातावरणमा पर्ने दीर्घकालीन प्रभावको अध्ययन तथा मूल्याङ्कन गरेका छैनन् । नेपालमा अरू कैयौँ आयोजना छन्, तिनका वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बनाउनका लागि मात्रै बनाइएका छन् । त्यसको मिहिन विश्लेषण अहिले कुन बुद्धिजीवीले गरेका छन् ? आज मनाङ, मुस्ताङ अथवा मेलम्चीमा आएका बेमौसमी बाढीमा कृत्रिम विकासको, त्यहाँ बनाइएका हाइड्रोपावर, खानेपानी आयोजनाको दोष कसैले देख्यो ? त्यहाँ वातावरण प्रभावित भएको प्रश्न कसैले उठायो ? 

त्यसकारण अदालतको पछिल्लो निजगढ विमानस्थल निर्माण प्रक्रिया नरोक्ने आदेश र प्रधानमन्त्रीको अब निर्माण काय सुरु गरिहाल्ने उद्घोष वास्तवमै सराहनीय छ ।

 

 

लेखक बाट थप