काठमाडौँ, पुस २५ गते । अनलाइनमार्फत हुने अवैध कारोबारका वेबसाइट, एप र सञ्जालसम्मको पहुँच रोक्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ ।
नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नपाएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङलगायतका डिजिटल कारोबार बढेकाले त्यस्ता वेबसाइट अथवा एपसम्म पहुँच पुग्न नसक्ने व्यवस्था गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।
‘अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन सेवालगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यम नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न’ प्राधिकरणले निर्देशन दिएको हो ।
पछिल्लो समय खासगरी अनलाइन सट्टेबाजी र नेटवर्किङ बढ्दै गएको प्राधिकरणको ठहर छ । विश्वकप फुटबलको समयमा पनि नेपालबाट अनलाइन सट्टेबाजी गर्ने प्रचलन बढेको थियो । कतिपय अवैध मानिएका अनलाइन सट्टेबाजी गर्ने वेबसाइटले अहिले खुलेआम नेपालमा आफ्नो सेवा प्रचारप्रसार पनि गरेको पाइएको छ । युट्युबलगायतका सामाजिक सञ्जालमा अहिले पनि यस किसिमको प्रचार देख्न सकिन्छ । नेपालमा वैधानिक रूपमा दर्ता नभएका र कानुनले वर्जित गरेका गतिविधि बढेपछि प्राधिकरणले त्यस्ता माध्यमसम्मको अनलाइन पहुँच रोक्न यस्तो निर्देशन दिएको जनाएको छ ।
प्राधिकरणले यस्तो निर्देशनको पूर्ण पालना गर्नुपर्ने जनाएको छ । ‘प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।