• ११ मंसिर २०८१, मङ्गलबार

समाजसेवामा नेपाल रेडक्रस

blog

समाजसेवा शब्दमा दुई खण्ड छन्, एउटा समाज र अर्को सेवा । यसको सोझो अर्थ समाजको सेवा भन्ने हुन्छ । यो पारिभाषिक शब्द पनि हो । समाजले एउटै रहनसहन, व्यवस्था, धर्म अँगाल्ने वा एकै स्थानमा बस्ने मानिसको समूहलाई जनाउँछ । कुनै विशेष सामूहिक उद्देश्य राखेर गठन भई कानुनी मान्यता प्राप्त संस्था पनि समाज हो । सभ्य र सज्जन मान्छे भेला भएर बस्ने ठाउँलाई समेत समाज भनिन्छ । सारांशमा मानव समूह, संस्था र स्थानबोधक शब्द पनि हो समाज ।

वाणी, मन, शरीर र कर्मले गरिने दैवी आराधना÷ उपासना, मान्यजनप्रतिको आदरसम्मान, पारिश्रमिक लिएर गरिने कामविशेष, सार्वजनिक उपकारका लागि गरिने काम र व्यवहार सेवा शब्दका अर्थ हुन् । साधारणतया समाजको सेवा अर्थ बुझाउने समाजसेवा शब्दले भावनात्मक सम्मान र भौतिक कर्म पनि जनाउँछ । यसभित्र व्यक्ति, समाज, राष्ट्र, धर्म–संस्कृतिको संरक्षण, संवद्र्धन र भलाइसम्बन्धी सोच, भावना र भौतिक कार्य पनि समाहित हुन्छन् ।

सृष्टिको उषाकालदेखि नै समाज सेवाको भावना मान्छेमा रहँदै आयो । सक्नेले नसक्नेलाई, बलियोले दुब्लोलाई, हुनेले नहुनेलाई र शक्तले अशक्तलाई सहयोग र सहायता गर्ने परम्परा बस्दैै आयो । यो परम्पराले मानव हृदयमा सहयोगको भावना शक्तिको प्रस्फुटनबाट भएको बुझाउँछ । यसर्थ आपत्–विपत्मा परेकालाई सहायता गर्नु, तमाम पीडा पोखरीबाट झिकेर प्राणी मात्रको जीवनलाई सुख र शान्तमय बनाउने काममा आफूलाई समर्पित गर्नु नै समाजसेवा हो भन्ने सिद्ध हुन्छ । पीडित र असहाय व्यक्तिहरूलाई आवश्यक सेवा प्रदान गर्नु समाज सेवाको सारतìव भएकोले यसकोे उद्देश्य स्वस्थ जीवन र स्वच्छ समाज निर्माण गर्नु हो ।

मान्छे समूहमा बस्न थालेपछि नै आपसी सहयोग र सङ्गठनात्मक भावना उदय भयो । समूहमा बस्ता अरूको रक्षात्मक काम गर्ने व्यक्तिको नेतृत्व स्वीकार हुँदै गएर उपकारी भावनाले धर्मको रूप लियो । मनमस्तिष्कमा उपकारी भावना धारण गरी भौतिक सहयोगात्मक कार्य गनुै नै धर्म भएकाले धारणात् धर्ममित्याहु भनी धर्मको परिभाषा गरिएको बुझिन्छ । त्यसैले समाजसेवा आफैँमा धर्म हो । वैदिक र पौराणिक कालदेखि नै धर्मकर्ममा अगाध आस्था र विश्वास राख्दैै आएको नेपाली समाजमा धार्मिक मान्यता र उपकारी संस्कारले दरिलो जरा गाड्दै आएको हुँदा ‘परोपकार पुण्याय पापाय परपीडनम््’ आदि शास्त्रीय उद्गार आएका हुन् । दान दिनु र परहितका कार्यलाई मान्यता दिई पुरुषार्थ चतुष्ठयको प्राप्तिमा जीवनको सार्थकता सम्झनु नेपाली जनजीवनले आत्मसात् गरेको आदर्श हो । सेवाभावको त्यही आदर्शबाट नेपाली समाजमा राजगुठी र निजीगुठी आदि सेवामुखी संस्था जन्मेका हुन् ।

परहितलाई धर्म र मानव कर्तव्य मान्ने नेपाली समाजले विश्वको जुनसुकै कुनामा स्थापना भएका परोपकारी संस्थालाई हृदयदेखि नै सधैँ मान्यता दिँदै आयो । विश्व समाजमा स्थापना भएको परोपकारी संस्था रेडक्रसमा आबद्ध हुनुको उद्देश्य पनि यही हो, जसको स्थान सेवाकार्यमा सर्वोच्च छ । मानवसेवा नै मूल उद्देश्य रहेको यो संस्थाका संस्थापक स्विट्जरल्यान्ड निवासी हेनरी ड्युना हुन् । उनले सन् १८६४ मा स्विट्जरल्यान्डमा यो सामाजिक संस्था स्थापना गरेका थिए । ८ मई १८२८ उनी जन्मेकाले ८ मईलाई विश्व रेडक्रस दिवस मानिन्छ । 

सन् १८५९ जुनमा इटालीको सोल्फेरिनो नामक ठाउँमा अस्ट्रिया र फ्रान्सबीच भएको भीषण सैन्य युद्धमा घाइते सैनिकको करुण क्रन्दन र युद्धको वीभत्स दृश्यले द्रवीभूत हेनरी ड्युनाको आह्वानमा स्विट्जरल्यान्डमा यो संस्थाको जन्म भएको थियो । युद्धमा घाइते भएर औषधोपचार र आवश्यक सहायताका लागि तड्पिरहेका मानिसको पीडाबोधले ड्युनाभित्रको मानवता जागृत भएर जन्मेको यो संस्थाको एक मात्र उद्देश्य मानवसेवा थियो । गर्भैदेखि नै मानवताको भावनाले मुखरित यो परोपकारी संस्था मानवता, समानता, निष्पक्षता, असंलग्नता, स्वतन्त्रता, एकता र विश्वव्यापकता ७ सिद्धान्तमा आधारित छ । धर्म, वर्ग, जातजाति, राजनीति र राष्ट्रियता आदिबाट अलग रहेर असहाय र पीडित सन्तप्त मानव जातिको एकतापूर्ण ऐच्छिक सेवा र सहायता यसले गर्छ ।

सन् १८६३ मा विश्व रेडक्रस अभियान जन्मेको १०० वर्षपछि सन् १९६३ (२०२० साल ) मा नेपाल रेडक्रस सोसाइटी जन्मियो । १ अक्टोबर सन् १९६४ (२०२१ असोज १६ )मा रेडक्रसको अन्तर्राष्ट्रिय समितिबाट विधिवत् मान्यता प्राप्तिपछि २ अक्टोबर सन् १९६४(२०२१ असोज १७ ) मा लिग अफ रेडक्रस सोसाइटिजको सदस्यता प्राप्त गरेर यस संस्थाले नेपालमा आफ्ना शाखा र सङ्गठन विस्तार सुरु ग¥यो । एम्बुलेन्स सेवालगायतका विभिन्न सेवा विस्तारबाट अघि बढेको नेपाल रेडक्रसले विगतमा तिब्बती शरणार्थीको समस्या समाधानमा अग्रसरता देखाएर उनीहरूलाई आवास, शिक्षा, स्वास्थ्य र व्यवसाय आदिको समुचित व्यवस्था गर्न आफ्नो साधन स्रोत लगानी गरी अनुकरणीय सेवा कार्य सम्पन्न गरेको सुनौलो इतिहास छ । मानवता रक्षाका लागि २०२३ साउन १२ गतेबाट रक्तकोषको स्थापना हुनु यसको अर्को महìवपूर्ण कार्य थियो । रक्तदान जीवनदानको जीवनदायी नारा अघि सारेर सुरु गरिएको यो सेवाका साथै रोगी र अशक्तहरूको सहयोगार्थ सुरु एम्बुलेन्स सेवाको विस्तार नेपालभरि दिनानुदिन भइरहेको सुखद अवस्था छ । 

नेपालभरिका सबै जिल्लामा सेवारत यस संस्थाका शाखा उपशाखाले समाजसेवा गरिरहेका छन् । सेवा नै परमो धर्म आत्मसात् गरी सेवारत यो संस्थाले आफ्ना मौलिक सिद्धान्तबमोजिम साधारण, आजीवन, विशिष्ठ, मानार्थ, यशस्कर र श्रेयस्कर ६ प्रकारका सदस्यता प्रदान गर्छ । सदस्यता प्रदानका मूल आधार दान, योगदान र सहयोग सम्मान नै हुन् ।

नेपाल रेडक्रसका सेवा कार्यक्रममा दैवीप्रकोपको पूर्वतयारी तथा उद्धार, रक्तसञ्चार, एम्बुलेन्स सेवा, सामुदायिक÷आधारभूत स्वास्थ्य सेवा, ट्रेसिङ सेवा, रेडक्रस ज्ञान तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको प्रचारप्रसार र जुनियर रेडक्रस कार्यक्रम आदि हुन् । रेडक्रसका अधिकांश कार्यक्रम नेपाल सरकारका विभिन्न विकास कार्यक्रमलाई टेवा पु¥याउने प्रकृतिका भएकाले रेडक्रस नेपाल सरकारको सहयोगी सामाजिक संस्था पनि हो ।

नेपाल रेडक्रसको सङ्गठनात्मक स्वरूपमा केन्द्रीय सभाअन्तर्गत केन्द्रीय कार्यसमिति, आर्थिक स्रोत परिचालन समिति, दैवी प्रकोप उद्धार समिति, रक्तसञ्चार सेवा समिति र जुनियर रेडक्रस समिति छन् । क्षेत्रमा क्षेत्रीय स्तरका समन्वय समितिहरू हुनुका साथै जिल्ला सभाअन्तर्गत जिल्ला कार्यसमिति रहन्छन् । जिल्ला शाखाका एकाइका रूपमा विभिन्न सहयोग समितिहरू र उपसमितिहरू रहने व्यवस्था छ । 

केन्द्रीय समितिले राष्ट्रिय स्तरका कार्यक्रमको नीति तथा कार्यान्वयनको समन्वय गर्छ । अन्य विभिन्न केन्द्रीय समितिहरूले आफू अन्तर्गतका काम गर्छन् । केन्द्रीय सभाले नीति निर्धारण र केन्द्रीय कार्यसमितिको चयन गर्छ । आफ्नो क्षेत्रअन्तर्गतका जिल्लाको समन्वय, परामर्श र सहयोगको काम क्षेत्रीय समन्वय समितिको हो । जिल्लास्तरीय कार्यकलाप सम्पन्न गर्ने कार्य जिल्ला कार्य समितिले गर्छन् ।

राष्ट्रका अन्य सामाजिक, धार्मिक एवं सांस्कृतिक संस्थाजस्तै रेडक्रसका प्रत्येक निकायले प्र्रति वर्ष आफ्ना गतिविधिको समीक्षा गर्दै भावी कार्ययोजना बनाएर छलफल गरी कार्यान्वयन गर्ने परम्परा छ । २०६० सालमा स्थापित मीनभवन कोटेश्वर उपशाखा काठमाडौँ जिल्लाअन्तर्गतका १८ उपशाखामध्येको एउटा एकाइ हो । यस उपशाखाले यही पुस १६ गते शनिबार आफ्नो १६औँ वार्षिक सभा सम्पन्न ग¥यो । सहयोगीनगर सामुदायिक समाज कोटेश्वरको भवनमा सम्पन्न यो सभाका सभाध्यक्ष उपशाखा प्रमुख मोहनकुमार पराजुली हुनुहुन्थ्यो । पङ्क्तिकारसमेत अतिथि रहेको यो सभाका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका सदस्य लक्ष्मीरत्न तुलाधर हुनुहुन्थ्यो । 

केन्द्रीय सदस्य चन्द्रकला कार्की पराजुलीसमेतको आतिथ्य रहेको यो सभामा उपशाखाका वार्षिक गतिविधिसहितको आर्थिक प्रतिवेदन पनि पास भयो । सभाध्यक्षसमेत १४ जनाले सम्बोधन गरेको यो सभामा नेपाल रेडक्रसका बारेमा केही राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित टीकाटिप्पणीबारे जिज्ञासामूलक संक्षिप्त चर्चा भए पनि कहिलेकाहीँ केही अति सतही विश्लेषणमा रमाउनेहरूको सोचका कारण पनि अतिशयोक्तिमूलक समाचार बन्ने हुँदा वास्तविकताको धरातलमा उभिएर पाठकले विश्लेषण गर्नुपर्ने र सम्बन्धित निकायले पनि कहीँ कतै अप्रिय कार्य भएका छन् भने आफूलाई सुधारेर कार्यक्षेत्रमा लाग्नुपर्ने सुझाव सभामा आए । 

नागरिकको परिवर्तित सोच र मिलीजुली देश निर्माणमा जुट्नुपर्ने सकारात्मक वातावरण बनिरहेको सन्दर्भमा सहिष्णु भई सतर्कतापूर्ण सहकार्य सबैको मन्त्र बन्नुपर्ने, सामाजिक सेवामा लाग्नेहरूको संस्कार फेरिनुपर्ने र सबै प्रकारका चुनौती सामना गर्दै विपरीत विचार राख्नेहरूलाई पनि मिलाएर लैजान सक्नुपर्नेजस्ता सहभागीका सुझाव मननयोग्य थिए । सबै प्रकारका निराशा त्यागेर रेडक्रसकर्मीले सकारात्मक जोश र जाँगर राखी नागरिकमा उत्साह, उमङ्ग र विश्वास जागृत गराउँदै सेवाकार्यमा जुट्नुपर्ने सबैका रायसुझावको सार थियो । सभामा यस उपशाखाले गर्दै आएका रचनात्मक योगदानको खुलेर प्रशंसा भयो । नागरिकको सेवामा खटिन संस्कार फेरिनुपर्नेमा सबैको जोड थियो ।