• ८ वैशाख २०८१, शनिबार

छाडा कुकुररहित पालिका अभियान, धमाधम बन्ध्याकरण

blog

काठमाडौँ, पुस २३ गते । सहरी क्षेत्रमा छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेपछि सहरी क्षेत्रका नगरपालिकाले कुकुरको स्थायी बन्ध्याकरण गर्न थालेका छन्। छाडा कुकुरका कारण सडक दुर्घटना हुनबाट रोक्न र कुकुरको टोकाइले रेबिज फैलन सक्ने खतराबाट मुक्त हुनका लागि नगरपालिकाले कुकुरको स्थायी बन्ध्याकरण गर्न थालेका हुन्। अहिले सम्बन्धित नगरपालिका र विभिन्न संस्थाको सहकार्यमा छाडा कुकुरको बन्ध्याकरण भइरहेको छ। 

द जेन गुड अल इन्स्टिच्युटका सामुदायिक संयोजक वसन्त गौतमले सहरी क्षेत्रमा सामुदायिक कुकुरको सङ्ख्या बढ्न थालेपछि सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन भइरहेको बताउनुभयो। 

देशभरका सहरी क्षेत्रका नगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण भएको यकिन तथ्याङ्क नभए पनि अहिले सबै पालिकामा गरी दैनिक करिब एक हजारको सङ्ख्यामा सामुदायिक कुकुरको बन्ध्याकरण भइरहेको नेपाल नगरपालिका सङ्घले जनाएको छ। 

समुदायिक कुकुरको बन्ध्याकरण गर्नेमा काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, ललितपुरको महालक्ष्मी, काठमाडौँको कीर्तिपुर र टोखा नगरपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, दाङको तुलसीपुर र घोराही नगरपालिकालगायतले सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने कार्य अभियानका रूपमा सञ्चालन गरेका छन्। 

उहाँका अनुसार यही गतिमा कुकुरको बन्ध्याकरण अभियान सञ्चालन भइरहेमा सहरी क्षेत्रमा छाडा कुकुरको बन्ध्याकरण गर्ने कार्य आगामी चार वर्षमा सकिनेछ। 

कुनै पनि जनावरलाई मार्न नमिल्ने र समातेर अन्यत्र छाड्न पनि नमिल्ने भएकाले अहिलेदेखि नै कुकुरको बन्ध्याकरण गर्दा केही वर्षपछि अहिले भएका कुकुरको क्रमिक रूपमा आयु सकिँदै जाने र कुकुरको सङ्ख्या कम हुने उहाँले बताउनुभयो।