• १२ साउन २०८१, शनिबार

‘ओखलढुङ्गा सुन्दर’ गीत सार्वजनिक

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, पुस २२ गते । व्याकुल माइलाले लेख्नु भएको ‘ओखलढुङ्गा सुन्दर’ गीत सार्वजनिक भएको छ । युगकवि सिद्धिचरण श्रेष्ठले ‘मेरो प्यारो ओखलढुंगा’ बोलको गीतले ओखलढुंगालाई देशभर चिनाउन सफलता मिलेको थियो । 

अहिले फेरि जिल्लाको समग्र भौगोलिक तथा सांस्कृतिक पक्षलाई उजागर गर्ने गरी व्याकुल माइलाले ‘ओखलढुङ्गा सुन्दर’ गीत आएको छ । लेखकका अनुसार यसबाट ओखलढुङ्गा जिल्लाको पर्यटन प्रबर्धन हुन सकोस् भन्ने शुभेच्छा राखिएको छ ।

गीतका बारेमा लेखक माइलाको विचार यस्तो छ– 

करिब ३ वर्षअघि ओखलढुङ्गा जिल्लामा जन्मी सानैदेखि काठमाडौं बसोवास गर्नुभएका गायिका बहिनी कविता खत्रीले आफ्नो जन्मभूमि ओखलढुङ्गा जिल्लाको सम्झना हुने एउटा गीत लेखिमाग्नु भयो । गीत सङ्गीतकार विष्णु अधिकारीलाई सङ्गीतबद्ध गराएँ । सङ्गीत संयोजन पनि भयो । मैतीदेवीस्थित ओपल स्टुडियोमा बोलाएर बहिनीलाई श्रवण गराइयो । बहिनीलाई कस्तो भयो भनेर सोध्न नपाउँदै गीतको भाव र सङ्गीतले भावविभोर भएर रुनु भयो । 

मलाई योभन्दा खुशीको कुरा अरु थिएन । रेकर्डिङ्गका लागि बहिनीले गाउने अभ्यासको गीत कपी गरेर लिनुभयो । अपसोच उहाँ लोकगायिका हुनु हुँदोरहेछ । गीतको धुन आधुनिक थियो । उहाँको स्वरसँग तालमेल नमिलेपछि उहाँसमेतलाई समावेश गरेर सिद्धहस्त गायक÷गायिकाहरू कुबेर राई, विष्णु अधिकारी, कला राई र निशा देसारको स्वरमा रेकर्डिङ्ग गरियो । 

यस गीत गाउनु हुने मुख्य गायक कुबेर राई यतिखेर पक्षघातको कारण अस्पतालमा हुनुहुन्छ । यस गीतबाट व्यावसायिक लाभको आशा गरिएको छैन । आफ्नो जन्मभूमि ओखलढुङ्गाप्रतिको जिम्मेवारी पूरा गर्ने सानो प्रयास मात्र हो । 

यसबाट ओखलढुङ्गा जिल्लाको पर्यटन प्रबद्र्धन हुन सकोस् भन्ने शुभेच्छा राखिएको छ । यसको रेकर्डिङ्ग व्याकुल माइला प्रतिष्ठान, नेपालबाट गरिएको छ । यस कार्यका लागि प्रतिष्ठानलाई प्रदेश–१, पर्यटन तथा संस्कृति मन्त्रालयबाट अनुदान प्राप्त भएको छ । 

युगकवि सिद्धचरण श्रेष्ठले ओखलढुङ्गलाई चिरपरिचित गराइसक्नु भएको कुरा जगजाहेरै छ । यो पनि आजको ओखलढुङ्गालाई यस गीतको माध्यमबाट थप बुझ्न, हेर्न एवम् जान्न सकिन्छ । यसबाट पर्यटन प्रबर्धन गर्न मद्दत मिलोस् भन्ने हो । 

ओखलढुङ्गा सुन्दर

– व्याकुल माइला

कहिले थियो, वल्लो–किरात, कहिले तीन–नम्बर

जहिले पनि जन्मभूमि, ओखलढुङ्गा सुन्दर ।


सगरमाथा हेर्दा लाग्छ, यहि भूमिको टोपी 

उभेका छन् पहाड पर्वत, चन्द्र–सूर्य बोकी 

मानिस यहाँ ताराजस्तै, चम्किला र खुशी

मलुङ्ग भेट्न सुनकोशी, लिइ आउँछ रोशी ।


लिब्जुधाम कुन्तादेवी थोलेदेम्बा शिखर 

पवित्र शहीदभूमि ओखलढुङ्गा सुन्दर ।


ढुङ्गामा छ इतिहास, पहरामा अग्लो छाँगा

डाँडापाखा पखेरीमा, फुल्छ गुराँस थुँगा 

पूर्वतर्फ दुधकोशी, पश्चिम हिम–गङ्गा

सेरोफेरो रमाइलो, हाम्रो ओखलढुङ्गा ।


टार बेँसी भञ्ज्याङ बस्ती, बन्दै गयो सहर

नयाँ युगमा झनझनै ओखलढुङ्गा सुन्दर ।