गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ५ गते । चैत्र कृष्ण औँसीका अवसरमा मनाइने घोडेजात्रा पर्व बुधबार काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम गरी भव्य रूपमा सम्पन्न भयो ।
नेपाली सेनाद्वारा आयोजित घोडेजात्रा विशेष समारोहमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो । उक्त समारोहमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायत स्वदेशी र विदेशी पाहुनाको उल्लेख्य सहभागिता रहेको थियो ।
पौराणिक जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा गुरुमापा भन्ने राक्षस बस्ने गरेको र उसले सहरका बालबालिकालाई खाने गथ्र्यो । आफ्ना बालबालिका जोगाउन पीडित स्थानीयले अनेक उपाय गरी उक्त राक्षसको संहार गरे । तर राक्षसको प्रेतात्मा पुनः जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय स्थानीयमा कायमै रह्यो ।
अब उप्रान्त उक्त राक्षसको आत्मा नजागोस् र बालबालिकालाई कुनै खतरा नहोस् भनी प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने प्रचलन रहँदै आएको छ । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी सोही दिनको राति गुरुमापा दबाएको रूखको फेदमा खानेकुरा, फलफूल चढाएर विशेष पूजा गरी वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहोस् भनी कामना गर्ने चलन रहेको छ ।
उक्त घोडेजात्रालाई विशेष आकर्षक बनाउन नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, घोडचढी दौड, टाङ्गन घोडादौड, चार्जर घोडादौड, टेन्ट पेगिङ्ग, क्रस टेन्ट पेगिङ्ग, शो–जम्पजस्ता रोचक घोड सवार कार्यक्रम गरिएको थियो । साथै सो अवसरमा सैनिक परम्परा, कौशल र संस्कृति झल्काउने विविध विशेष कार्यक्रम आयोजना गर्दै आएको छ । सो अवसरमा विशेष तालिमप्राप्त कुकुरले समेत विशेष कला प्रदर्शन गरेका थिए ।
समारोहका प्रमुख अतिथि राष्ट्रपति पौडेलले शो–जम्पमा प्रथम र द्वितीय स्थान हासिल गर्ने सहसेनानी प्रवीण लामिछाने, जमदार रामबहादुर दाहाल तथा टेन्ट पेगिङ्मा प्रथम र द्वितीय हुने सहसेनानी विकल्प थापा र सिपाही सन्तोष भण्डारीलाई पुरस्कार प्रदान गर्नुभयो ।
जबरालाई सर्वोत्कृष्ट सम्मान
नेपाली सेनाले निर्वाचन आयोगका आयुक्त सगुनशमशेर जबरालाई ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान–२०८२’ प्रदान गरेको छ । महासेनानी दर्जाबाट सेवानिवृत्त भएपछि निर्वाचन आयुक्तको जिम्मेवारी समाल्नुभएका जबरा उक्त सम्मान पाउने चौथो व्यक्ति हुनुहुन्छ ।
प्रत्येक वर्ष सेना दिवसका अवसर पारेर प्रदान गरिने उक्त सम्मान यस वर्ष घोडेजात्राका अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा बुधबार प्रदान गरिएको हो । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उहाँलाई दोसल्ला ओढाएर तीन लाख रुपियाँ र सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको हो ।
नेपाली सेनाले महासेनानी दर्जामा रहँदा नेपाली जनता तथा संस्थाप्रति सदैव वफादार रही सेवा प्रदान गर्नुका साथै सेवा निवृत्तपश्चात् समेत नेपाली सेनाप्रति अटल विश्वास, आस्था एवं सद्भाव राख्नुभएकोमा धन्यवाद ज्ञापन गरेको छ ।
सम्मानपत्रमा भनिएको छ, “तपाईले निर्वाचन आयुक्तको गरिमामय पदमा नियुक्त भई निर्वाचन आयोगमार्फत सम्पादन हुने विविध कार्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आयोगको प्रतिनिधित्व र निर्वाचनसम्बन्धी विभिन्न समितिको नेतृत्व गरी उत्कृष्ट कार्यसम्पादन गर्दै सम्पूर्ण भूतपूर्व सैनिकलाई प्रेरणा प्रदान गर्नुभई नेपाली सेनाको गौरव र छवि उच्च राख्न पु¥याउनुभएको उत्कृष्ट योगदानको मूल्याङ्कन गर्दै सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान–२०८२ प्रदान गरिएको छ ।”