• १३ असोज २०८१, आइतबार

प्रधानमन्त्रीसँग नेजा अध्यक्ष न्यौपानेद्वारा भेट

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुहुँदै नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष विकासराज न्यौपाने ।

काठमाडौं, पुस २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गैरआवासीय नेपालीका मुद्दालगायत विषयमा छलफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीसँग भेटका क्रममा पत्रकारको हकहितका लागि नेजाले उठाउँदै आएका विभिन्न विषयबारे जानकारी गराएँ ।”

यस्तै, उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेसँग पनि नेजाका अध्यक्ष न्यौपानेले भेट गर्नुभएको छ । अमेरिकामा रहेका नेपाली समुदायका विभिन्न आयामसँग नेजाले खेलेको भूमिका र गैरआवासीय नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न नेजाको सहभागिताबारे जानकारी गराउनुभयो ।

“अमेरिकामा विभिन्न क्षेत्रमा आबद्ध पत्रकारले गरेका गतिविधिबारे उपप्रधानमन्त्रीलाई अवगत गराएँ”, नेजा अध्यक्ष न्यौपानेले भन्नुभयो । भेटघाटका अवसरमा उहाँले प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

उहाँ सुर्खेतमा आयोजना गरिएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभामा भाग लिन अमेरिकाबाट नेपाल आउनुभएको हो । अध्यक्ष न्यौपानेले महासङ्घसँग समन्वय गरी नेजाले आगामी दिनमा खेल्ने भूमिकाका सन्दर्भमा विभिन्न प्रदेशमा छलफल गरिसक्नुभएको छ ।