मञ्चमा क्रमशः प्रकाश छरिन्छ । सुकुल ओछ्याइएको छ । दायाँबायाँ धानका बोराहरू एकमाथि अर्काे गरी मिलाएर राखिएको देख्न सकिन्छ । फ्रक लगाएकी र दुई चुल्ठी बाटेकी, अन्दाजी १४ वर्षकी केटी सुकुलमा बसेर एक्लै तरकारी केलाइरहेकी छन् । मञ्चको प्रकाश त्यस केटीमा केन्द्रित हुन्छ । तरकारी केलाउँदाकेलाउँदै गरेका उनका हातहरू एक्कासि स्थिर हुन्छन् । उनी कुनै कुरामा ध्यानमग्न भएझैँ देखिन्छिन् । मञ्चमा अन्धकार व्याप्त हुन्छ ।
क्रमशः मञ्चमा प्रकाश छरिन्छ । त्यहाँ केटी र उनका बाबु देखिन्छन् । केटीको हातमा पूजाको थाली र करुवा हुन्छ । उनी एकसुरमा अगाडि बढिरहेकी हुन्छन् । पछाडि बोलाएको आवाजले उनका गोडा टक्क अडिन्छन् ।
बुबा : (झर्कंदै) कस्तो एक सुरकी रहिछे ! ए... तैँले बोलाएको सुनिनस्, ए मैयाँ !..
केटी: (पछाडि फर्कंदै) बा ! मलाई बोलाउनुभएको हो ?
बा: (रिसाउँदै) हो, तँलाई नै बोलाएको... अरू कोही छ र यहाँ ?... के पूजा गर्न जान लागेकी ?
केटी: हो, बा !
बा: (सम्झाउँदै) हजुरआमाले भन्नुभएको बिर्सेकी छैन होला नि ! सीं गुठी देवतालाई ढोका बाहिरबाटै पूजा गर्नू, त्यसलाई नछुनु है !
केटी: (मुन्टो हल्लाउँदै) हुन्छ, बा !... (एकछिन गम्दै) किन र बा ? त्यसमा के हुन्छ ? ..हाम्ले पूजा गर्न हुने तर हेर्न अनि छुन नहुने, त्यसमा के हुन्छ र बा ?
बा: (झर्कंदै) के हुन्छ, के हुन्छ, त्यसमा ? तिम्लाई किन चाहियो ? मान्छेभन्दा ठूलो कुरा गर्दिरहिछे, जे भन्यो, त्यही माने भइहाल्यो नि ! (छोरीतिर हेर्दै) के ठिङ्ग उभिएर बसेकी ?... ल, ल जाऊ... म त्यहीँ बाहिरसम्म गएर आउँछु । केटी नेपथ्यमा हराउँछिन् । मञ्चमा अन्धकार छाउँछ । नेपथ्यबाट कोही भ-याङ उक्लेको आवाज आउँछ ।
मञ्चभरि प्रकाश छरिन्छ । मञ्चको बीच भागमा प्रकाश केन्द्रित हुन्छन् । सुकुलमाथि उही केटी ध्यानमग्न अवस्थामा देखिन्छिन् । अनि खुसी हुँदै उठ्छिन् । मञ्चको चारैतिर केही हेरेको झैँ गर्छिन् । कोही नदेखेपछि झन् खुसी हुन्छिन् र प्रफुल्ल मुद्रामा नाच्छिन् ।
केटी : (खुसी हुँदै) आज घरमा कोही पनि हुनुहुन्न । शायद सबै खेतमा जानुभयो होला । अँ, साँच्ची आमाले मलाई पनि खाजा खानेबेला खेतमा नै आउनु भन्नुभएको थियो ।... (सोच्दै) साँच्ची माथि त्यस कोठामा त्यस काठको बाकसमा के होला ? कस्तो देवता राखेको होला ? बुबा र हजुरआमाले त्यसलाई छुनु हुँदैन... टाढैबाट पूजा गर्नुपर्दछ भनेका भन्नै .... (सोचमग्न अवस्थामा) आज घरमा कोही छैनन् । आज हेर्नुपर्ला, के रहेछ त्यहाँ ? ...(मनमनै गम्दै) हेर्नु हुँदैन भनेपछि किन हेर्नुपर्ने ? नभएर नै त होला नि हेर्नु हुँदैन भनेको ? नहुने भन्या ठाउँमा ...(टाउको कन्याउँदै) ला, एकचोटि हेरेर के हुन्छ ? उहाँहरूले थाहा नपाउनेगरी हेर्छु, जे पर्ला पर्ला । साँचो सधैँ त्यहीँ किलामा झुन्ड्याइएको त हुन्छ नि !
मञ्चमा पुनः अन्धकार झाउँछ । नेपथ्यमा भ-याङ उक्लेको आवाज सुनिन्छ । केही बेरमा ढोका खोलेको आवाज पनि सुनिन्छ । मञ्चमा प्रकाश छरिन्छ । त्यहाँ नेवारी संस्कृति झल्कने विविध मञ्च सामग्री देख्न सकिन्छ जस्तै घ्याम्पो, काठको सन्दुस आदि । मञ्चको प्रकाश केन्द्रमा केन्द्रित हुन्छ । त्यहाँ एउटा काठको बाकस देखिन्छ । त्यसमा बाहिरबाटै पूजा गरिएको अबिर, फूल आदि देख्न सकिन्छ । केटी भयभीत हुँदै बिस्तारै अगाडि बढ्छिन् । डराउँदै बाकसको चाबी खोल्छिन् । बाकसभित्र हेरेर डराउँदै पछाडि हट्छिन् । लामो लामो श्वास फेर्दै पुनः बाकस अगाडि जान्छिन् । त्यहाँ भएका डब्बल पैसाहरू हातमा उठाएर पुनः बाकसमा नै राख्छिन् । एकदम जतनका साथ पट्याएर राखेको पहेँलो कपडा देवताको ओढनी (देय् फांगा) लाई खोल्छिन् । त्यसभित्र राखिएका केही डब्बल र केही सुनका टुक्रा भुइँमा खस्छन् । केही डब्बलमा अबिर लागेको हुन्छ । उनको निधारमा चिटचिट पसिना आउँछ । उनी निकै भयभीत देख्छिन् । उसका हातखुट्टा काम्न थाल्छन् । जिउ फुलेकोजस्तो अनुभव हुन्छ ।
कुनै अज्ञात शक्तिको उपस्थितिको महसुस गर्छिन् । डराउँदै चारैतिर बिस्तारै मुन्टो घुमाएर हेर्छिन् । मुटुको धड्कन जोडजोडले बजेको स्पष्ट रूपमा दर्शकले सुन्न सक्छन् । हडबडमा पुनः त्यस देवताको ओढनी (देय् फांगा)लाई जस्ताको तस्तै पट्याएर बाकसमा राख्छिन् । पहिलेको जस्तै बाकसलाई मिलाएर राख्छिन् । लामो लामो निश्वासका साथ हतारिँदै डराउँदै नेपथ्यतिर लाग्छिन् । मञ्चमा पुनः अन्धकार छाउँछ ।
प्रकाश पुनः छरिन्छ । प्रकाश केवल बीचमा केन्द्रित देखिन्छ । त्यहाँ सुकुलमाथि ओछ्इएको ओछ्यानमा त्यही केटी सुतिरहेकी छन् । उनी बर्बराउँछिन् । दर्शकले केही बुझ्दैनन् । एकैछिनमा उनी जुरुक्क डराउँदै उठ्छिन् । यताउति हेर्छिन् । लामो लामो निश्वास फेर्छिन् । सिरकलाई मिल्काउन खोज्छिन् तर त्यतिकै त्यसलाई मिल्काउँछिन् ।
केटी : (जोडले कराउँछिन्) आमा !... आमा !... अधबैँसे आइमाईको हतारिँदै प्रवेश हुन्छ ।
आमा: (केटीलाई अङ्कमाल गर्दै र केश मुसार्दै, मायालु आवाजमा) के भो ? छोरी ? ..के नराम्रो सपना देख्यौ ? केटी अस्पष्ट रूपमा बर्बराउँछिन्
केटी: (हातले इशारा गर्दै) आ.. आ.. आमा... त्यहाँ...त्यहाँ... त्यहाँ.... कोही... कोही... ।
आमा: (दायाँबायाँ हेर्दै) हेर यहाँ केही छैन । ...कोही पनि त छैन ..डराउनुपर्दैन म छँदै छु नि ! ...केटी आमाको अङ्कमाललाई बेसरी कस्छिन् । सुँकसुँक गर्दै रोइरहिन्छन् ।
केटी: (रुँदै) आ... आ.. आमा ! मलाई एक्लै छाडेर कतै नजानुस् है । अचेल मलाई निकै ...निकै डर लाग्छ ।
आमा: (छोरी डराएको देखेर छक्क पर्दै) के भो र तिम्लाई, (निधारतिर छाम्दै) ज्वरो आएको छ कि ? ...हो ..खै निधार त तातो छैन । के भो र तिम्लाई ? किन डराएकी ? ...(आश्चर्यमा पर्दै) तिमी त मेरी बहादुर छोरी, यसरी डराउने मान्छे त तिमी होइनौ ? के भो भन ...त !.. कहाँ गएकी थियौ ? के देखेकी थियौ ? ..कतै सपना त नराम्रो देखिनौ ?
केटी: (आमाको छातीमा लिप्सिक्क टाँसिँदै) आमा ...हिजो घरमा कोही नभएको बेला....(बोल्दाबोल्दै उनी टक्क अडिन्छिन्) ।..
आमा: (जिज्ञासु भावले) किन बोल्दाबोल्दै अडिएकी ? के भएको थियो हिजो ? भन त !
केटी ः केही होइन, आमा... तर आमा ! म आज एक्लै घरमा बस्दिनँ, तपाईंसँग खेतमा जान्छु, है !
आमा ः (सशङ्कित हुँदै) ल... ल... भइहाल्छ नि, ल हिँड, खाना खाने बेला भइसक्यो । मञ्चमा अन्धकार छाउँछ ।
स्पोट लाइट मञ्चको मध्यभागमा केन्द्रित हुन्छ । सुकुलमाथि बिछ्याइएको ओछ्यानमा केटी सुतिरहेकी हुन्छिन् । उनको निधारमा चिटचिट पसिना आएको हुन्छ । उनी निकै डराएकी छिन् । बिस्तारैैै मञ्चमा प्रकाश छरिन्छ । त्यहाँ क्रमशः अन्य मानिसहरू पनि रहेका देखिन्छन् । सबैको ध्यान केटीतिर नै केन्द्रित देखिन्छ ।
आमा ः (गुभाजुतिर हेर्दै) निकै दिनदेखि यसको हालत यस्तै छ । निकै डराएकी, एक्लै बर्बराइरहिन्छन्, एक्लै भयो कि कराइहाल्छिन्, ...एक जनाले त छोड्नु नै हुँदैन, अब के गर्ने असारको बेला खेतमा धान रोप्ने चटारो ...घरमा यस्तो !
बा : रोग पनि के हो ? के हो ? पत्ता लागेको होइन, सबै ठिकै छ भन्छ डाक्टर.. तर छोरीको हालत यस्तो छ, ...सुधार भएको होइन, ....न कतै दोबाटोको भूत पिशाचले पो समात्यो कि ?
गुभाजु नजिकै रहेको मकलबाट हातमा खरानी लिएर बिरामीको नाडी छाम्छन् र निधार छाम्छन् । केही बेरसम्म जोखना हेर्छन् ।
गुभाजु ः (केहीबेर गम्दै) दोबाटोको पिशाच लागेको रहेछ, बेलुकापख बत्ती बालेर (बौ वायेगु) राखे हुन्छ, डराउनुपर्दैन ...।
आमा टाउको हल्लाउँछिन् । छोरीको नजिक बसेर टाउको सुम्सुम्याउँछिन् । गुभाजु र बासँगै निस्केर नेपथ्यमा हराउँछन् । मञ्चको स्पोट लाइट आमा छोरीमा केन्द्रित हुन्छ । आमा छोरीलाई उठाएर ओछ्यानमा बसाउँछिन् । गिलासबाट पानी खुवाउँछिन् ।
आमा ः (अलि मायालु स्वरमा) मैयाँ ! तिम्लाई के भएको ? मलाई त भन, तिमी यस्तो मान्छे त होइनौ ? पक्कै केही त भएको छ । आमालाई नभनेर कोसँग भन्छौ ? ...(छोरीको मन चोर्न खोज्दै) मेरी छोरी निकै असल ...सबै कुरा आमालाई बताउँछिन्, है !
छोरी ः (अलि डराउँदै) आ... आमा !..
आमा ः (छोरीलाई ढाडस दिँदै) अँ... भन न, नडराई भन, कसैले गाली गर्दैनन् तिम्लाई, बाले पनि गाली गर्नुहुन्न... भन, नडराई भन ।
छोरी ः (डराउँदै) आमा !.. मलाई पूजाकोठामा जान नि, निकै डर लाग्छ ।
आमा ः किन र छोरी ? तिम्ले पूजाकोठामा केही देख्यौ ?
छोरी मौन बस्छिन् ।
आमा : (छोरीको पाखुरा समात्दै) भन न, मैयाँ, तिमी केही भन्दैथ्यौ, के भएको थियो ?
पूजाकोठामा !
छोरी ः (रुँदै) मैले एउटा गल्ती गरेँ... बाले भनेको मानिनँ... हजुरआमाको कुरा पनि टेरिनँ ।
आमा ः (अचम्म हुँदै) किन र? के ग-यौ तिम्ले ?
छोरी ः आमा... आमा... मैले माथि गएर... घरमा कोही नभएको बेला... तपाईंहरू खेतमा जानुभएको थियो नि... हो त्यसबेला त्यो सीं गुठीको देवता राख्ने बाकस खोलेर हेरकी थिएँ.... ।
आमा ः (सामान्य रूपमा प्रस्तुत हुँदै) मैयाँ ! तिम्ले त्यहाँ के त्यस्तो देख्यौ र ? यस्तो विघ्न डराएकी ?
छोरी ः (डराउँदै) त्यहाँ देय् फांगा रहेछ, डब्बल पैसा, सुनका टुक्रा अनि.... ।
आमा ः त्यति त तिम्ले पहिल–पहिले पनि देखेकी थियौ त, किन डराउनुपथ्र्याै र ? अस्ति न साइँलाकी आमा बित्नुभएको बेला बाले त्यो देय् फांगा लगेर लासमाथि ओडाइदिनुभएको तिम्ले देखेकी थियौ, होइन र ?
छोरी ः (डराउँदै) देखेकी थिएँ, मा, तर ...त्यतिबेला तपाईं मेरो साथमा हुनुहुन्थ्यो नि !
आमा ः (सम्झाउँदै) तिम्लाई बा र हजुरआमाले त्यसलाई हेर्नुहुँदैन भन्नुभएकाले, तिम्ले त्यसलाई सामान्य रूपमा लिन सकिनौ, तिम्रो मनले कुनै चोरी र पाप गरेझैँ सोच्यो, त्यसमाथि एक्लै घरमा हुँदा देय् फांगा देख्दा तिम्लाई डर मात्र लागेको हो, अरू त्यस्तो केही छैन, मैयाँ.. ।
छोरी ः (अलि खुसी हुँदै) आमा, त्यसो भए मलाई केही पनि हुँदैन, मलाई कुनै पाप लाग्दैन, म मर्दिनँ, मा !
आमा ः (छोरीलाई ढाडस दिँदै) तिम्लार्ई केही हुँदैन, लास लैजाँदा छोरामान्छेले मात्र लैजाने हुँदा छोरी मान्छेले त्यसलाई छुन हुँदैन भन्ने परम्परा मान्छेले नै बनाएका हुन्, त्यसकारण त्यसलाई पूजा गर्न हुने तर छुन र हेर्न नमिल्ने भन्या
हुन् । यो नियम मान्छेले नै बनाएका हुन् ..भगवान्ले होइन ।
छोरी ः त्यसो भए आमा मैले डराउनुपर्दैन । आमा, मैले कुनै पाप गरेकी छैन, हगि आमा !
आमा ः केही हुँदैन मेरी मैयाँलाई, देवीदेवताले कसैको नराम्रो गर्दैनन् ...।
छोरी ः (जुरुक्क उठेर, नाच्दै) ल हेर्नुु आमा, म ठीक भएँ, मेरो मन हलुङ्गो भो ! मनको डर कता भाग्यो कता भाग्यो ? हेर्नुस् त आमा ।
आमा छोरीको मनमा रहेको डर बुझ्न र भगाउन सकेकामा खुसी हुँदै छोरीको नाच हेरिरहिन्छन् । मञ्चमा क्रमशः अन्धकार छाउँछ ।