• २२ असार २०८२, आइतबार

पहुँचवाला र ठूलामा केन्द्रित निर्यातमा नगद अनुदान

blog

काठमाडौँ, पुस २१ गते । स्वदेशी वस्तुको निर्यात प्रवद्र्धन गर्न सरकारले दिँदै आएको नगद अनुदान ठूला उद्योगी र पहुँचवालाले मात्र पाउने गरेको व्यवसायीले बताएका छन् । 

सातौँ निर्यात दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा निर्यातकर्ता व्यवसायीले साना र मझौला उद्योगीले अनुदान पाउन नसकेको बताएका हुन् । नेपाल निर्यात परिषद्का अध्यक्ष रेशमबहादुर पोखरेलले निर्यात प्रवद्र्धन गर्न सरकारले उपलब्ध गराएको नगद अनुदान साना र मझौला उद्योगले पाउन नसकेको बताउनुभयो । “नगद अनुदान पहुँचवालाले मात्र पाउने गरेका छन् । साना र मझौला उद्योगले नगद प्रोत्साहन प्राप्त गर्न नसक्दा सामान्य उद्योगीले लाभ लिन नसकेका हुन्,” उहाँले भन्नुभयो ।

निर्यातयोग्य वस्तुको उत्पादन र निर्यातकर्तालाई सहुलियतदरमा कृषिसरह बैङ्किङ ब्याज उपलब्ध गराउनुपर्ने, स्वदेशी वस्तु प्रतिस्पर्धी बनाउन निर्यातमूलक उद्योग व्यवसायका लागि १० वर्षसम्म छुटको व्यवस्था गरे मुलुकको निर्यात बढ्न सक्ने उहाँको भनाइ छ । 

विभिन्न देशमा रहेका नेपाली दूतावास र कूटनीतिक नियोगमार्फत निर्यातयोग्य वस्तुको व्यापक प्रचारप्रसार गर्न सके स्वदेशी वस्तुको निर्यात बढाउने सकिने व्यवसायीको भनाइ छ । 

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत स्वदेशी वस्तुको निर्यात प्रवद्र्धन गर्न सरकारले ५ देखि ८ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरेको छ । चर्काे हवाई भाडा, दक्ष जनशक्तिको अभाव, तरलताको अभाव, उच्च ब्याजदर, बजार प्रवद्र्धनमा कमी, विदेशमा कच्चा पदार्थ ल्याउन ढुवानी खर्चले गर्दा लागत महँगो, बजार विविधीकरण र कर प्रणालीमा असमानता हुँदा निर्यात बढ्न नसकेको व्यवसायीको भनाइ छ ।  

परिषद्का महासचिव हरिप्रसाद ढकालले आयातमुखी बजारलाई निर्यातमुखी बनाउन प्रत्येक वर्ष निर्यात दिवस मनाउँदै आएको जानकारी दिनुभयो । प्रत्येक वर्ष पुस २२ गते सरकारले नै निर्यात दिवस घोषणा गर्नुपर्ने उहाको भनाइ छ ।  

निर्यातका समस्याबारे जानकारी गराउन, व्यावसायिक ऐक्यबद्धता देखाउन, नेपालमा उत्पादित वस्तुको प्रतिस्पर्धा क्षमता अभिवृद्धि गरी, निर्यात प्रवद्र्धनको माध्यमबाट सम्पूर्ण नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि गर्ने लक्ष्यलाई मूर्त रूप प्रदान गर्न नेपाली वस्तुको विविधीकरण गरी निर्यात क्षेत्रको विस्तार गराई अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा जोड दिइने उहाँले जानकारी दिनुभयो । 

‘निर्यातको विस्तार अर्थतन्त्रमा सुधार’ भन्ने मूल नाराका साथ आगामी शुक्रबार निर्यात दिवस मनाउन लागिएको हो । यस दिवसका अवसरमा बिहीबार र शुक्रबार काठमाडौँको छाया सेन्टर ठमेलमा निर्यातयोग्य वस्तुको प्रदर्शनी हुन लागेको परिषद्ले जानकारी दिएको छ । सरकारले आयातमा गरिएको कडाइका कारण चालू आर्थिक वर्षको पाँच महिनामा आयात निर्यात दुवैमा उल्लेख्य रूपमा कमी आएको व्यवसायीको भनाइ छ । 

कार्यक्रममा व्यापारविज्ञ एवं पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले निर्यात बढाउन गुणस्तरीय वस्तुको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । 

सरकारले निर्यातयोग्य वस्तुको पहिचान गरेर प्रतिस्पर्धी उत्पादन बढाउन सके आयात प्रतिस्थापन गर्न सकिने उहाँको भनाइ छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात नहुँदा मुलुको आर्थिक अवस्था निर्यातमुुखी नभई आयातमुखी बन्दै गएको उहाँले बताउनुभयो । 

बाहिरबाट कच्चा पदार्थ आयात गरेर मूल्य अभिवृद्धि गरेर निर्यात हुने गरेकामा अहिले पाम तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएकाले स्वदेशी वस्तु भ्यालु एड गरेर निर्यात बढाउन सके समग्र व्यापार बढ्न सक्ने व्यवसायीको भनाइ छ । स्वदेशी वस्तुको लागत मूल्य महँगो पर्ने हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने हुँदा माग कम हुने व्यवसायीको भनाइ छ ।