शालिग्राम नेपाल
चितवन, पुस २१ गते । नारायणी नदी नियन्त्रणका लागि तटबन्धन निर्माणको काम सुरु भएको छ । दुई अर्ब १९ करोड रुपियाँको लागतमा नारायणगढको नारायणी नदी किनारमा आकर्षक पार्कसहितको तटबन्धन निर्माण हुन लागेको हो । तटबन्धनसहित मेघौलीको गोलाघाटसम्म नदी नियन्त्रणका लागि काम सुरु भएको नारायणी नदी व्यवस्थापन आयोजना कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शङ्कर बुढाथोकीले जानकारी दिनुभयो । निर्माण हुने क्षेत्रमा तारजाली, कङ्क्रिट, ठूला ढुङ्गाको प्रयोग हुने उहाँले जानकारी दिनुभयो ।
नारायणी नदीले चितवनको मङ्गलपुर, गुञ्जनगर, मेघौलीलगायतको क्षेत्रमा जमिन कटान गरेर बस्ती जोखिममा पार्दै आएको थियो । बर्सातको समयमा नारायणी नदीले खेतीयोग्य जमिन कटान गर्दै मानव बस्तीमा प्रवेश गर्न थालेपछि तटबन्धनको माग वर्षौंदेखि हुँदै आएको थियो । गत वर्षबाट तटबन्धनका लागि बोलपत्र आह्वान गरी सम्झौता भए पनि काम सुरु नभएकोमा केही हप्ताअगाडिबाट काम सुरु भएको नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर बुढाथोकीले बताउनुभयो । अहिले चितवनको मेघौली क्षेत्रबाट काम भइरहेको छ । तीभन्दा बाहेक अन्य स्थानबाट पनि काम भएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयले दिएको जानकारीअनुसार पाँचवटा ठेक्काबाट काम भइराखेको छ । ठेक्का नं. ३१ रामघाटदेखि काभ्रेघाट मङ्गलपुरसम्म एक अर्ब १५ करोड रुपियाँको लागतमा निर्माण हुँदै छ । यहाँ निर्माण हुने तटबन्धनको माथिल्लो भागमा यात्रा गर्न मिल्ने गरी ग्राभेल सडक हुने आयोजनाले जानकारी दिएको छ ।
त्यस्तै ठेक्का नं. ३० अन्तर्गत गाजीपुरदेखि हीरापुरसम्म ४८ करोड ४७ लाख रुपियाँको लागतमा निर्माण कार्यका लागि सीमाङ्कन गरिँदै आएको छ । यस क्षेत्रमा आवश्यकताको आधारमा तारजाली र ठूला ढुङ्गा राखिने कार्यालयले जानकारी दिएको छ ।
यसैगरी ठेक्का नं. २९ को सिसैदेखि बालुवासम्म ३७ करोड ४७ लाख रुपियाँको लागतमा काम भइराखेको छ । बालुवादेखि मेघौलीको गोलाघाट ठेक्का नं. १ मा २६ करोड चार लाख रुपियाँको लागतमा अहिले तटबन्धनको काम भइराखेको कार्यालयले जानकारी दिएको छ ।
नारायणगढको नारायणी नदीको पुलबाट उत्तरतर्फको किनारमा १५ करोड ९३ लाख रुपियाँको लागतमा पार्कसहितको तटबन्धन गरिने नारायणी नदी व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ । जमिन कटान गर्न नसक्ने गरी सिमेन्टको पर्खाल लगाएर नदी नियन्त्रणको काम गरिनेछ । यस क्षेत्रमा मानिसको चहलपहल हुने भएकाले अन्यन्त्रभन्दा फरक तरिकाले नदी नियन्त्रणको कार्य गरिने उहाँले जानकारी दिनुभयो ।
नदी नियन्त्रणका लागि कुनै स्थानमा ठूला ढुङ्गा राखेर निर्माण गर्नुपर्ने भएकाले त्यसका लागि टाढाबाट सामग्री ल्याउनुपर्ने बाध्यता रहेको छ । ठेक्काको काम भए पनि आवश्यक पर्ने ठूला ढुङ्गाको अभाव भएको भन्दै सूचना अधिकारी बुढाथोकीले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरेर नै ठूला ढुङ्गाबाहेकमा सामग्री नारायणी नदीबाट उठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
तटबन्धनपछि नारायणी नदी किनारमा ठूला होटल रेस्टुरेन्टको स्थापना भएर पर्यटकीय क्षेत्रका रूपमा नदी किनारको विकास हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । तटबन्धन नियन्त्रणका लागि परियोजना ल्याउन महानगरपालिकाको पहल गरेको दाहालले बताउनुभयो ।