काठमाडौं, पुस २० गते । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठित विभिन्न उपसमितिहरूको बैठक नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ । बुधबार बिहान केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा बैठक बसेको हो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा गठित उपसमितिका संयोजकहरूले आ–आफ्नो समितिको प्रतिवेदन पेस गरेका जानकारी दिनुभयो । प्रतिवेदनहरूलाई आगामी बस्ने केन्द्रीय कार्यसमितिमा समितिका संयोजक श्रेष्ठले प्रस्तुत गर्नुहुने छ ।
बैठकमा जीपछिरिङ्ग लामा, आनन्दप्रसाद ढुङ्गाना, मीन विश्वकर्मा, गोविन्द भट्टराई, सरिता प्रसाईँ, रमा कोइराला पौडेल, चन्द्रबहादुर केसी, मञ्जु खाँण, हरिशरण नेपाली, जानकी सिंह, कान्तिका सैंजुवाल, पूर्वकेन्द्रीय सदस्य किरण गिरी र अनुगमन तथा सुपरिवेक्षण उपसमितिका सहसंयोजक डा. कृष्णप्रसाद पौडेलले आ–आफ्नो धारणा राख्नुभएको थियो ।