चित्र मिजार
सिन्धुपाल्चोक, पुस २० गते । विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकमा महल जस्ता विद्यालय भवन निमार्ण भएका छन् । भूकम्प प्रतिरोधात्मक भवन निमार्ण पछि विद्यार्थीहरू सुरक्षित रूपमा अध्ययन गर्न पाएका छन् ।
बाह्रबिसे नगरपालिका–८ स्थित मानेश्वाँराको भद्रकाली माध्यमिक विद्यालयमा नेपाल सरकार र एसियाली विकास बैङ्कको ७ करोड ३४ लाख ९७ हजार २४२ रुपियाँ ६८ पैसामा २२ कोठे भूकम्प प्रतिरोधी भवन पुन निमार्ण गरिएको छ । उक्त भवनको प्रतिनिधि सभा–२ का नव निर्वाचित सांसद मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो । प्रधानाध्यापक हिरा सापकोटाले नयाँ भवनमा विद्यार्थीहरू उत्साही भएर अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
यस्तै नेपाल सरकार र एसियाली विकास बैङ्ककै ६ करोड ८६ लाख लागतमा चौतारा साँगचोकगढी नगरपालिका–१४ मा १६ कोठे नवनिर्मित डडुवा भवानी शङ्कर माध्यमिक विद्यालय भवनको पनि उद्घाटन गरिएको छ । उक्त विद्यालयको उद्घाटन चौतारा साँगचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले गर्नुभएको छ ।
दुवै विद्यालय भवन नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईको विपद् उत्थानशील विद्यालय परियोजनामार्फत निमार्ण भएका हुन् । भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवनमा सुरक्षित रूपमा अध्ययन अध्यापन कार्य भइरहेको प्रअ बद्रीप्रसाद नेपालले जानकारी दिनुभयो ।
नवनिर्मित डडुवा भवानी शङ्कर माविमा प्रयोगात्मक कक्ष, कम्प्युटर कक्ष, आकस्मिक उपचार कक्ष समेतको प्रबन्ध गरिएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले सिन्धुपाल्चोकका करिब ५ सय ४७ वटा विद्यालय भवन ध्वस्त बनाएको थियो । उक्त क्षति भएका विद्यालय मध्य ९० प्रतिशत ध्वस्त विद्यालय नेपाल सरकारका विभिन्न निकाय र दातृ निकायबाट पुन निमार्ण भएका छन् । महल जस्ता विद्यालयको शैक्षिक गुणस्तरमा भने वृद्धि हुन सकेको छैन ।